मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सांसदको कोरोना परीक्षणको रिपोर्ट दिउँसो ३ बजे आउने

सांसदको कोरोना परीक्षणको रिपोर्ट दिउँसो ३ बजे आउने


काठमाण्डौ – संसद्को बजेट अधिवेशनको तयारी लगभग पूरा भएको संसद् सचिवालयले जनाएको छ । आज दिउँसो ४ बजेपछि सुरु हुने दुवै सदनको बैठकका लागि आवश्यक तयारी पूरा भएको र कुनै समस्या पर्न नदिन सुक्ष्म अध्ययन भइरहेको संसद् सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । 

बैठकमा सहभागी हुने सांसदहरुको स्वास्थ्य परीक्षण भइरहेको छ । अहिलेसम्म दुई सय ६८ सांसदको स्वाब परीक्षण भएको छ । तीन सय३४ सांसदमध्ये चार जना निलम्बनमा परेका छन् भने स्वाब परीक्षण गर्न बाँकी ३० जनामा कोही काठमाण्डौ उपत्यकाबाहिर र कोही कार्य व्यवस्तताले परीक्षणमा सहभागी भएका छैनन् । छुटेका केही भने परीक्षणका लागि आउँदै गरेको सचिवालयले जनाएको छ । 

सचिवालयले स्वास्थ्य परीक्षण नगरि बैठकमा बस्न नदिने नियम बनाएकाले बैठक बस्नुअघि सबैको परीक्षण हुने छ । यस्तै बैठकमा प्रत्यक्ष सरोकार राख्ने कर्मचारीको पनि स्वाब परीक्षण भइरहेको छ । परीक्षण गराएका सबैको रिपोर्ट दिउँसो ३ बजेसम्म आइसक्ने सचिवालयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिनुभयो । रिपोर्टमा नेगेटिभ नतिजा आएकालाई मात्रै बैठकमा प्रवेश दिइनेछ । 

यस्तै सांसदलाई दुई सिट छोडेर बस्ने तथा अधिवेशन अवधिभर एउटै सिटमा बस्ने व्यवस्था मिलाइएको छ । प्रधानमन्त्री, मन्त्री तथा दलका नेताबाहेक सांसदले रोस्ट्रम प्रयोग नगर्ने, संसद् भवनमा प्रवेश गर्दा र फर्कँदा फरक ढोकाको प्रयोग गरिने, क्यान्टिन र सभा हलबाहिर पनि भिडभाड नगर्ने, दर्शक दीर्घामा कसैलाई पनि प्रवेश नदिइने, सञ्चारमाध्यमलाई सचिवालयले फोटो उपलब्ध गराउने संसद् सचिवालयले जनाएको छ । 

यस्तै बैठक कक्ष प्रवेश गर्दा अनिवार्य रुपमा साबुन पानीले हात धुनुपर्ने, बैठक अवधिभर सबैले मेडिकल माक्स (मुखावरण) को प्रयोग अनिवार्य गर्नुपर्नेलगायत नियम बनाइएको सचिवालयले जनाएको छ । सांसदको कोरोना परीक्षणको रिपोर्ट आएपछि मात्र संसद्को बजेट अधिवेशन सुरु हुनेछ ।