- हिम बिश्वकर्मा
वर्तमान अवस्थामा पनि सामाजिक, आर्थिक, राजनैतिक, शैक्षिक र स्वास्थ्य क्षेत्रको पहुँचबाट टाढा रहेको सुदूरपश्चिम प्रदेश नेपालका अन्य प्रदेशहरुको तुलनामा पछाडी नै छ । सुदूरपश्चिम प्रदेशमा पनि अछाम र बाजुरा जिल्ला बासीहरुको अवस्था झन पछाडी छ । भौगोलिक विकटता, जलवायु परिवर्तनको असर, प्रतिकुल मौषम, रासायनिक मल र विषादीको प्रयोग, परम्परागत कृषि तथा पशुपालन प्रणाली, परिश्रम अनुसार उत्पादनमा कमी, सिचाईं योग्य जमीनको सिमितता, खानेपानीको अभाव, यातायात, विधुत तथा सञ्चार विस्तारिकरणका साथ भौतिक सुविधामा आर्कषण, वेरोजगारी जस्ता प्रमुख कारणहरुले यहाँका अधिकाशं मानिसहरु आफ्नो र परिवारको लालन–पालन गर्न । खुला सिमाना, सहज आवात–जावत, समान धार्मिक, साँस्कृतिक रितीरिवाज आदी कारणले सयौं वर्ष देखी, कामको खोजीमा छिमेकी मुलक भारतका विभिन्न शहरबजार गई चौकीदारी, ज्याला मजदूरी गरी आफ्नो र परिवारको लालनपालन गर्दै आईरहेका छन । मौषमी रुपमा काम गर्न जाने मानिसहरु चाँडपर्व र खेतीपातीको समयमा घर फर्कने, कतिपय व्यक्तिहरु तीन–चार वर्ष पछि मात्र घर पर्कने गर्दछन् भने कयौंन मानिसहरु सपरिवारका साथ भारत मै बसेर जीवन निर्वाह गरि रहेका छन ।
स्वाभाविक रुपमा अनुकुलित वातावरण भए शहर बजारमा मानिसहरुलाई जीवनलाई निर्वाह गर्न विभिन्न किसिमको काम पाईन्छ, आम्दानी भई रहन्छ र दैनिकी चलि रहन्छ । तर ! प्राकृतिक तथा मानव सिर्जित विपदका कारण निम्तने प्रतिकुल परिस्थितीमा शहरमा मजदूरी गरी जीवन निवार्ह गर्ने मानिसहरु, प्रवासमा अध्ययनरत विद्यार्थी र भ्रमण यात्रुहरुको जीवन संकटमा पर्ने सम्भावना बढी हुन्छ । हो ! यसै गरी अहिले विश्वस्तरमा देखा परेको वैश्वीक महामारी कोरोना भाईरस (कोभिड १९) को संक्रमणलाई नियन्त्रण गर्न, विश्वस्तरका मुलुकहरुले लाकडाउन नीतिलाई अवलम्बन गर्दा, अन्य र छिमेकी मुलक भारतमा ज्यालामजदूरी गर्न गएका आम नेपालीहरु ठूलो संकटमा परेका छन् ।
खुला सञ्चार सिवायक मानिसहरुको घर बाहिर जावत–जावत पूर्ण रुपमा रोक लगाईएको छ । स्वास्थ्य सम्बन्धित क्षेत्र बाहेक सबै क्षेत्रका कामकाजहरु स्थगित गरिएका छन । सडकमार्ग, जलमार्गर रेलमार्ग र हवाईमार्गहरु केही समयका लागि बन्दछन् । औधोगिक क्षेत्र, बजारक्षेत्र, निजी तथा सार्वजनीक क्षेत्रहरु बन्द हुनुका साथै पुरै विश्व स्तब्ध बनेको छ । हजारौं मानिसहरु वेरोजगार बन्न पुगेको छन् । कयौंन मानिसहरु संग जोहो गरी राखेको पैसा र खाद्यान्न सकिन थालेको छ । आवत–जावत असहज भएको बेला आफन्त र विभिन्न संघ, संगठनका मानिसहरुले अलपत्र परेका मानिसहरु लाई सहयोग गर्न सकि रहेका छैनन् ।
करीब, दुई महिना देखी विश्व स्तरका बहुसंख्यक मुलक सहित नेपाल र भारतमा पनि लॉकडाउन छ । भारतका विभिन्न शहजबजारमा चौकीदारी तथा दैनिकी ज्याला–मजदूरी गरी जीवन निवार्ह गरिरहेका हजारौं नेपालीहरु महामारी संक्रमणको त्रास भन्दा पनि भोकमरी र मानसिक त्रासको संक्रमणमा पर्दै गईरहेका देखिन्छन् । सिमा–नाकाहरु कडाईका साथ बन्द गरिदाँ स्वदेश फर्कन चाहने हजारौं मानिसहरु सिमा–नाका तथा भारतका विभिन्न प्रमुख गन्तव्य स्थलहरुमा अलपत्र परिरहेको अवस्था छ । बेरोजगारीको कारण गाँस–बासको अभाव सृजना हँुदा कयौंन मानिसहरुमा प्रतिकुल परिस्थितीको सामना गर्ने शक्ति गुम्ने, आत्महत्ता गर्ने, मानसिक सन्तुलन गुमाउने, परिवारलाई एक्लो छोडेर हिड्ने जस्ता नकारात्मक समस्या सृजना हुन थालेको अवस्था छ ।
सोमबार मात्र प्राप्त समाचार अनुसार सुदूर–पश्चिम प्रदेश, अछाम जिल्ला बान्नगढी जयगढ गाउँपालिका वडा नं २ जनालीकोट पूर्खौली घर भई, धेरै लामो सयम देखी मंगलसेन नगरपालिका बान्नोतोली पालाकाट्या बस्दै आएका र तीन–चार वर्ष पहिले बसाई सराई गरी पूर्खौली थलो जनालीकोट फर्केका, हाल भारतको गुजरात राज्यको प्रमुख शहर राजकोटको पश्चिमी सिमाना कालावाड रोडमा अवस्थित एउटा मण्डप डेकोरेशनको कामगर्ने मालिक कहाँ मजदुरी गरी, चार छोरा–छोरी र श्रीमति सहित स–परिवार उक्त शहरमा बस्दै आएका, अन्दाजी वर्ष ३५ का सेर बहादुर हुड्के नाम भएका व्यक्तिले, मालिकले उनीहरु बस्दै आईरहेको घर खाली गरी दिनु भन्दा धैर्य गर्न नसकि झुण्डीएर आत्महत्या गरेको खबर सुन्दा प्रवासीहरुले भोग्नु परेको चरम पिडालाई सम्झी सारै भावुक बनायो ।
गरीबको कारण जीवन निवार्ह गर्न राजकोट जानु, करिब दुई महिनाको लॉकडाउनमा जिनतीन जोहो गरी राखेको रासन र नगद जिन्सी सकिनु, रोजी–रोटी गुम्नु र भाडा तिर्ने पैसा नभएर बसीरहेको घरबाट निस्कनु पर्ने वाध्यता सृजना हुनु, यस्तो कठिनाईको सामना गर्न नसकी उनी ज्यान गुमाउन बाध्य भएको खबर गुजरातमा बस्ने उनका एकजना आफन्तले दुखेसो राक्दै जानकारी दिएँ । कोरोना भाइरस (कोभिड १९) महामारीको संक्रमणको अवस्था हेर्दा राजकोट शहर पनि गुजरात राज्यका प्रमुख संक्रमीत शहरहरु मध्ये भित्र परेको छ । तसर्थ लॉकडाउनलाई पूर्णरुपमा पालना गर्न यो शहरका आमबासी र प्रशासनको बाध्य छ । राजकोटमा घर बाहिर आवात–जावतलाई बन्द गर्न कडाई गरिको छ । जसकारण यस दुःखदायी घटनामा अलपत्र परेका दिगंवत सेर बहादुर हुड्केको परिवारजनलाई आवश्यक सहयोग गर्न आफन्त, गाउँबासी र अन्य मानिसहरु जान सकेका छैन । एकतीर लोग्नेको झुण्डिएको लाश, अर्कोतीर साना चारवटा केटाकेटीको चित्कार, अपरीचित प्रदेशको ठाउँ, चिन्ता र विवशतामा होश गुमेको छ रे ! एउटा निरक्षर विरङ्गना नेपाली चेलीको राजकोटमा । हो यो त ! करुणादायी घटनाको सुरुवात हो । प्रवासीहरुको अवाज सुन्दा सेरबहादुर जस्ता थुप्रै गरीब दिन दुःखी सुदूरपश्चिम बासीहरुले कठिन संकटासन्न परिस्थितिको समाना गरी रहेको छन रे भारतका विभिन्न शहरबजारमा ।
हो ! यदि लॉकडाउनको अवस्था केही दिन अझ झन लम्बिएर जाने हो भने ! प्रवासमा अलपत्र परेको मानिसहरु महामारीको डर भन्दा पनि मानसिकरुपमा कमजोर बनि दुष्प्रयास कदमहरु उठाउन बाध्य हुने अवस्था सृजना भएको छ । तसर्थ, हे ! नेपाल सरकार, सुदूरपश्चिम प्रदेश र सम्बन्धीत स्थानीय सरकारहरु, सम्पूर्ण मानव अधिकार संघ संगठन तथा अन्य सहयोगी निकायहरु; भारतको विभिन्न क्षेत्रमा अलपत्र परेका आम मानिसरुलाई भारत सरकार र सम्बन्धित राज्य सरकारहरु संग समन्वय, सम्पर्क र आवश्यक पहल गरी, सकिन्छ भने सक्दो छिटो स्वदेश भित्र्याउने वातावरण बनाऔं । विद्यालय, क्याम्पस, सार्वजनिक भवन, होटलहरु तथा सम्बन्धीत प्रवासीहरुको स्वदेशमा रहेका घरहरुमा यथाशिर्घ मापदण्ड अनुसारको उपयुक्त क्वारेन्टीन केन्द्रको स्थापना गरी भित्र्ने नागरिकहरुको व्यवस्थापनमा जोड देऊ ।
भित्र्याउन सकिदैन भने ! विपदको यस घडीमा राहत गाउँमा होईन प्रवासमा अलपत्र परेका मानिसहरुलाई उपलब्ध गर । प्रवासमा पनि वास्तविक राहतको आवश्यकता खड्किएका दिन दुःखीहरुको पहिचान गरी, उनीहरुको यथाशिर्घ सुरक्षीत गाँस–बासको व्यवस्था गर । यो बेला ढिलासुस्ती नगर्ने भई, दूर्त निर्णय तथा तिव्र कार्यान्वयनका साथ अलपत्र परेका मानिसहरुको जीवन रक्षा गर्ने बेला हो । जनताले आफ्ना थुप्रै सन्ततीहरुको बलिदानी चढाई स्थापित गरेको लोकतन्त्रको मर्म महशुस गर्ने क्षण हो । यदि नागरिक शारीरिक र मानसिकरुप बलिया भया, अहिले खस्केको अर्थतन्त्र भोली निश्चित रुपमा बलियो हुन्छ नै, ढिलो चाडो होला फरक त्यती नै हो । भकारी अनुकुल समयमा प्रतिकुल परिस्थितीमा जीवनरक्षा गर्न भरिन्छ । तसर्थ अर्थतन्त्र बलियो बनाउनु, नागरिक सुरक्षा प्रथम प्राथमिकतामा पर्नु पर्ने होईन र ? हाम्रो अछामीमा यूगौं देखी मान्यता बोक्दै आएको उखान छ “ छोरा भया पछि, रिन लाग्या पन, झाड जाई पालुली” तसर्थ चिन्ता रिनको होईन नागरिक सुरक्षाको गरौं । नागरिक बाँच्या पक्कै पनि रिन भोली तिर्ने नै छन । यस कुरामा सबैको ध्यान जावस् । धन्यवाद !
लेखक : विश्वकर्मा, राष्ट्रिय यूवा गैर सरकारी संस्था महासंघ, नेपाल, सुदूरपश्चिम प्रदेशको संयोजक हुनुहन्छ ।
प्रतिक्रिया