मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लिम्पियाधुरा समेटेर नक्सा जारी गर्न सरकारलाई सचिवालयको निर्देशन

लिम्पियाधुरा समेटेर नक्सा जारी गर्न सरकारलाई सचिवालयको निर्देशन

सुदूर आज

फाइल तस्बिर

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले लिम्पियाधुरासहितका भू–भाग समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन दिएको छ ।

सरकारको नीति तथा कार्यक्रममाथि सुझाव दिन बसेको नेकपा सचिवालयको बैठकले नेपालको भूमिको रक्षा गर्न र तत्काल नक्सा जारी गरेर भारतलाई जवाफ दिन निर्देशन दिएको छ ।

“हामीले लिम्पियाधुरासहितका भू–भाग समेटेर नयाँ नक्सा जारी गर्न सरकारलाई निर्देशन, सुझाव दिएका छौं,” बैठकपछि सचिवालय सदस्य तथा वरिष्ठ नेता झलनाथ खनालले भने, “नेपालको भू–भागको रक्षा गर्नु सरकारको कर्तव्य हो । यसमा सरकार कहीँ कतैबाट विचलित हुनुहुँदैन ।”

भारतले गत नोभेम्बरमा आठौं राजनीतिक नक्सा प्रकाशित गर्दै नेपालका भूभाग पनि समेटेको थियो । त्यसमा नेपालले तुरुन्तै जवाफ फर्काउनुपर्ने आवाज उठेको छ । नेपालको भूमि अतिक्रमण गर्दै लिपुलेक जोड्ने सडक खनेको विषयमा पनि सरकारले दृढ भएर प्रस्तुत हुनुपर्ने राजनीतिक तवरमै वार्ता गर्न सुझाव दिइएको खनालले बताए ।

त्यस्तै आजको बैठकले कोरोनाको सङ्क्रमण भयावह बन्दै गएकाले सरकारले प्रभावकारी कदम चाल्नुपर्ने निष्कर्ष निकालिएको उनले बताए ।

बैठकमा आजै संसद्‍मा प्रस्तुत हुने नीति तथा कार्यक्रमबारे पनि छलफल भएको थियो । कोरोना कारण शिथिल बनेको अर्थतन्त्र उकास्‍ने गरी कार्यक्रम प्रस्तुत गर्न सुझाव दिएको खनालले बताए ।

“कोरोनाले असर पारेका क्षेत्रलाई उकास्‍नेतिर नीति, कार्यक्रम केन्द्रित हुनुपर्छ, परम्परामुखी भन्दा पनि विशेष आर्थिक कार्यक्रमको जरुरी परेको छ । हामीले त्यही सुझाव दियौं,” उनले बाह्रखरीसँग भने । – baarahkhari