मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दासढुङ्गाको यथार्थ पत्ता लगाएरै छाड्छौं – नेकपा अध्यक्षद्धय

दासढुङ्गाको यथार्थ पत्ता लगाएरै छाड्छौं – नेकपा अध्यक्षद्धय


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले दासढुङ्गाको यथार्थ पत्ता लगाएरै छाड्ने उद्घोष गरेका छन् ।

२०५० जेठ एमालेको तत्काली पार्टी महासचिव मदनकुमार भण्डारी र सङ्गठन विभाग प्रमुख जीवराज आश्रित दासढुङ्गामा रहस्यमय दुर्घटनामा परि मृत्युवरण गरेका थिए । तर, नेकपाका कार्यकर्ताहरू यसलाई दुर्घटना मान्न तयार छैनन् । हत्या मान्दै आएका छन् । 

पार्टी एकताको दोस्रो वर्षगाँठको अवसरमा वक्तव्य जारी गर्दै अध्यक्षद्वयले यथार्थको गहिरो अन्वेषण गरी सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धता गरेका हुन् ।

“दुई लोकप्रिय नेताहरूको रहस्यमय दासढुङ्गा जीप दुर्घटनामा दुःखद् निधन भएको आज २७ वर्ष बितेको  छ । उक्त घटनाको रहस्य अझै उद्घाटित हुन सकेको छैन । तर, आम नेपाली जनता त्यस घटनालाई सामान्य सडक दुर्घटनामा मान्न तयार छैनन् । उनीहरू मध्ये धेरैले यसलाई नेपालको लोकतान्त्रिक र देशभक्तिपूर्ण आन्दोलनविरूद्धको षड्यन्त्रपूर्ण हत्याका रूपमा लिन्छन् । २७ औं मदन–आश्रित स्मृति दिवसको सन्दर्भमा हाम्रो पार्टी उक्त रहस्यमय घटनाको यथार्थको गहिरो अन्वेषण गर्दै सत्यतथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने प्रतिबद्धता पुनः व्यक्त गर्दछ,” अध्यक्षद्वयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

तत्कालीन सरकारले गठन गरेको आयोग र त्यसको प्रतिवेदनलाई चित्त नबुझाउँदै त्यतिबेला एमालेले केपी ओलीको नेतृत्वमा एक सदस्यीय आयोग पनि गठन गरेको थियो । त्यो पनि आयोगले अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगरेको भन्दै पूर्वएमाले र अहिलेका नेकपा कार्यकर्ताले नै गुनासो गर्दै आएका छन् ।

मदन–आश्रितको सम्झनामा आजको दिन नेकपाले विविध कार्यक्रम गर्दै आएको छ । हिजैमात्र सरकारले मदन भण्डारी विश्वविद्यालय सञ्चालनमा ल्याउन प्रक्रिया अघि बढाउने कार्यक्रम प्रस्तुत गरेको छ । मदन–आश्रित स्मृति दिवसकै दिन पारेर दुईवर्षअघि एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गरिएको थियो । -बाह्रखरी