मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछाममा हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

अछाममा हेलिकप्टर मार्फत सुत्केरीको उद्धार

सुदूर आज

सुत्केरी ओडलाई उद्धार गर्न आएको नेपाली सेनाको हेलिकप्टर  

अछाम – जिल्लाको तुर्माखाँद गाउँपालिकामा एक सुत्केरीलाई हेलिकप्टरबाट उद्धार गरिएको छ । गाउँपालिकाको कृषि शाखा प्रमुख भगेन्द्र ओडकी श्रीमति २४ वर्षकी तुलसी ओडलाई नेपाली सेनाको हेलिकप्टर मार्फत उद्धार गरिएको हो । 

उनलाई क्षेत्रिय अस्पताल कालागाउँ सुर्खेत लगिएको छ । सुत्केरी व्यथा लागेपछि तुर्माखाँद स्वास्थ्य चौकिमा लगिएकी उहाँको एउटा बच्चा जन्मिएको छ भने पेटमा फेरी अर्को बच्चा रहेको अनुमान गरिएको छ । 

दोस्रो बच्चा जन्माउन नसकेर निकै सकस भएपछि गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माको पहलमा हेलिकप्टर मगाएर तत्काल उद्धार गरि सुर्खेत पठाइएको गाउँपालिकाका खेल संयोजक कमलबहादुर बुढाले जानकारी दिए ।

जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ११ निवासी ओडलाई गएराती देखि नै व्यथा लागेपछि तुर्माखाँद स्वास्थ्य चौकिमा भर्ना गरिएको थियो । सुत्केरीलाई समस्या भएको बारे प्रमुख जिल्ला अधिकारी मार्फत खबर गरिएको र गाउँपालिकाले समेत पहल गरेपछि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको सहयोगमा हेलिकप्टर तुर्माखाँद आइपुगेको थियो । 

उनलाई सुर्खेत पुर्याए लगतै एम्बुलेन्स मार्फत क्षेत्रिय अस्पताल लगेर उपचार सुरु गरिएको गाउँपालिका अध्यक्ष शर्माले जानकारी दिए । सुत्केरी ओडसँगै हेलिकप्टरमा तुर्माखाँद स्वास्थ्य चौकिकी अनमि देबकी शाहीलाई समेत पठाइएको छ ।