मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना अपडेट : एस्तो छ विश्वको अवस्था

कोरोना अपडेट : एस्तो छ विश्वको अवस्था


एजेन्सी । महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या विश्वभर ४६ लाख २९ हजार ५७५ पुगेको छ । जोन हप्किन्स युनिभर्सिटीका अनुसार विश्वभर तीन लाख ११ हजार ३६३ संक्रमितको मृत्यु भइसकेको छ ।  अमेरिकामा अहिलेसम्म १४ लाख ६६ हजार ६८२ कोरोना संक्रमित देखिइसकेका छन् । 

यसबीचमा अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले महामारीको सामनाका लागि ट्रम्प प्रशासनको तरिकाको आलोचना गरेका छन् । ओबामाले सरकारमा शीर्ष पदमा रहेका व्यक्तिले जिम्मेवारी बहन गर्न नसकेको टिप्पणीसमेत गरेका छन् । 

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले लकडाउन खोल्ने तयारीमा रहेका देशहरूलाई चेतावनी दिँदै भनेको छ, “यो समय तयारी को हो, न कि खुसी मनाउने ।”

उता इटालीमा लकडाउनमा राहत दिने दिशामा कैयौं कदम उठाएको छ । इटलीमा पसल, रेस्टुराँ, बार र सैलुन मे १८ बाट खुल्ने भएका छन् । आगामी जुन ३ बाट युरोपेली मुलुकबाट आउने नागरिकका लागि पनि इटालीले अनुमति दिएको छ ।

स्पेनको सरकारले अन्तिमपटकका लागि आपतकाल बढाउने विषयमा छलफल भइरहेको जनाएको छ । स्पेनमा जुनको अन्तिमसम्मका लागि आपतकाल बढ्ने सम्भावना रहेको बीबीसीले जनाएको छ । स्पेनमा विगत आठ सातामा मृत्यु हुने संक्रमितको सबैभन्दा कम संख्या शनिबार देखिएको तथ्यांक छ ।

इजरायलले कोरोना भाइरसको प्रकोप न्यून भएका क्षेत्रमा शैक्षिक संस्थानहरू खोल्ने अनुमति दिएको छ । इजरायलमा समुद्री तटहरू बुधबारबाट खुला गरिने भएका छन् । 

पोल्यान्डको राजधानी बार्सामा कोरोनाको संक्रमण फैलिन नदिन लगाइएको प्रतिबन्धको विरोध गरिरहेका दर्जनौं प्रदर्शनकारीलाई पक्राउ गरिएको छ । बेलायतको लन्डनमा पनि १९ प्रदर्शनकारी पक्राउ परेका छन् । जर्मनीका केही सहरमा प्रहरीले प्रदर्शनकारीमाथि बल प्रयोग गरेर तितरबितर गरेको छ ।

टर्कीका स्वास्थ्यमन्त्रीले पछिल्लो चौबीस घण्टामा ४१ कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरेका छन् । योसँगै टर्कीमा मृत्यु हुने संक्रमितको संख्या चार हजार ९६ पुगेको छ ।  नेपालमा कोरोना भाइरसबाट पहिलो मृत्यु शनिबार भएको छ ।