मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लकडाउनका दुई महिना : ४१ जिल्लामा ५८४ संक्रमित

लकडाउनका दुई महिना : ४१ जिल्लामा ५८४ संक्रमित

सुदूर आज

काठमाडौं- कोरोना भाइरस संक्रमणबाट जोगिन नेपालमा लकडाउन गरिएको आइतबार दुई महिना पूरा भएको छ।

सरकारले परीक्षणका दायरा तीव्र बनाउने भने पनि अहिलेसम्म पीसीआर परीक्षण गर्नेको संख्या ४५ हजार ९ सय ५९ छ। एक दिनमा सरदर ७ सय ६६ जनाको पीसीआर परीक्षण हुँदै आएको छ। सरकारले चैत १६ गतेदेखि पीसीआरकाे परीक्षण दायरा विस्तार गरेकाे थियाे।

यस्तै ८६ हजार २ सय ३५ को आरडीटी परीक्षण गरिएकाे स्वास्थ्य मन्त्रालयले जनाएको छ। सरदरमा दैनिक १४ सय ३७ जनको आरडीटी परीक्षण भएको देखिन्छ।

लकडाउन सुरु हुनुभन्दा केही सातादेखि भारतलगायत विभिन्न देशबाट नेपाल फर्कनेको संख्याको कुनै लेखाजोखा छैन। यस्तै लकडाउन जारी भएपछि पनि भारतबाट हजारौं नेपाली स्वदेश फर्किएका छन्।

दुई जना संक्रमित भएपछि लकडाउन गरिएको थियो। नेपालमा पहिलो संक्रमित माघ ९ गते भेटिएका थिए भने चैत १० गते दोस्रो व्यक्तिमा संक्रमण पुष्टि भएको थियो। दोस्रो संक्रमित भेटिएको भोलिपल्टदेखि लकडाउन घाेषणा गरिएकाे थियाे। पछिल्लाेपटक थपिएकाे लकडाउन अवधि २० जेठ गतेसम्म छ।

अहिलेसम्म आइपुग्दा कोरोना भाइरस संक्रमणबाट ३ जनाको मृत्यु भएको छ भने संक्रमितको संख्या ५८४ पुगेको छ। यस्तै ७० जना उपचारपछि घर फर्किएका छन्।

संक्रमित हुनेमा ५ सय ५ जना पुरुष छन् भने ७९ महिला छन्। सबै प्रदेशका गरी अहिलेसम्म ४१ जिल्लामा कोरोना भाइरस संक्रमण फैलिएको छ।

सबैभन्दा बढी प्रदेश ५ मा २७१ जना संक्रमित भएका छन्। यस्तै सबैभन्दा बढी बाँके जिल्लामा १४२ जना संक्रमित भएका छन्। प्रदेश २ मा १ सय ७२ जना, बागमती प्रदेशमा ३२ जना, सुदूरपश्चिम प्रदेशमा १४ जना, गण्डकी प्रदेशमा पाँच जना, कर्णाली प्रदेशमा चार जना र रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। – nepalsamaya