डडेल्धुरामा क्वारेन्टिनमा राखिएका एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका ३ का साढे छ वर्षीय बालक रहेका छन्। आइतबार राति १२ बजेपछि जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएका बालकको मृत्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिए।
उनका अनुसार आमाबाबुसँगै उनी भारतको मुम्बईबाट आइतबारमात्रै डडेल्धुरा आइपुगेका थिए। ‘उहाँहरू राति आउनुभएको हो। क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो, डीएसपी न्यौपानेले भने, ‘हामीकहाँ फोन आयो बालक गम्भीर बिरामी छन् भनेर। यताबाट गाडी पठाएर अस्पताल पुर्याएका थियौं।’
डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. जगदीशचन्द्र विष्टले बालकको अस्पताल पुर्याउनुभन्दा अघि नै मृत्यु भएको पुष्टि गरे। उनका अनुसार ती बालकलाई बिहान ३ बजे अस्पताल पुर्याइएको थियो।
‘बिहान अस्पताल ल्याउनुभएको थियो। ती बालकको अस्पताल पुग्नु अगाडि नै मृत्यु भइसकेको थियो,’ उनले भने। ती बालक मलेरिया रोगबाट ग्रसित रहेको बुझिएको उनले बताए। यसअघि उनी मुम्बईस्थित एक अस्पतालमा उपचाररत थिए।
बालकको शव अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ। उनको आइतबार नै कोरोना परीक्षणका लागि थ्रोट स्वाब संकलन गरिने निमित्त मेसु विष्ट जानकारी दिएको नेपाल समयमा खबर छ।
प्रतिक्रिया