मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाविरुद्धको संघर्षमा सरकार असफल : कांग्रेस

कोरोनाविरुद्धको संघर्षमा सरकार असफल : कांग्रेस


काठमाडाैं- नेपाली कांग्रेसले कोरोनाविरुद्धको संघर्षमा तयारीका लागि पर्याप्त समय पाएर पनि सरकारी अकर्मण्यताका कारण ६ जनाको मृत्यु भएको ठहर गरेको छ। कांग्रेस केन्द्रीय कार्य समितिको शनिबार बसेको बैठकपछिको निर्णयमा भनिएको छ, ‘निरन्तरको साथ, सुझाव र दबाबका बावजुद सरकार कोरोना विरुद्धको संघर्षको सक्षम ढंगले नेतृत्व गर्न असफल भइरहेकोे ठहर यो बैठक गर्दछ।’

बैठकले पीसीआर विधिबाट परीक्षण व्यापक बढाउन, स्वास्थ सामग्री पर्याप्त प्रबन्ध गर्न, क्वारेन्टिनहरुलाई मापदण्डअनुरुपको बनाउन, आइसोलेसन वार्डको संख्या व्यापक वृद्धि गर्न, अत्यावश्यक भेन्टिलेटरको पर्याप्त जोहो गर्दै युद्धस्तरमा कार्य गर्न माग गरेको छ।

यसैगरी बैठकले लकडाउन भएको दुई महिना पुग्दासम्म राहत, क्वारेन्टिन, उपचारलगायतका काममा स्थानीय तहलाई आवश्यक रकम नपठाएरसरकारले गैरजिम्मेवारीपूर्ण व्यवहार गरेको निष्कर्ष निकालेको छ। बैठकले तत्काल रकम निकासा गर्न सरकारसमक्ष माग गरेको छ। यस्तै कांग्रेसले श्रमिक, बेरोजगार, विद्यार्थी, अपांगता भएका नागरिक र एकल महिलालाई राहतको विशेष व्यवस्था गर्न माग गरेको छ। लकडाउनका कारण विज्ञापन व्यवसायमा परेको असरको सोझो प्रभावमा मिडिया हाउस एवं श्रमजीवी पत्रकारमा परेको भन्दै कांग्रेसले एक मात्र पनि पत्रकार या अन्यको रोजगार गुम्न नदिने एवं गुमेकालाई पुनस्र्थिापित गर्ने गरी राहत प्रबन्ध गर्न सरकारसँग माग गरिएको बैठकको निर्णयमा उल्लेख छ।

खर्बौं रुपैयाँ रेमिटेन्स पठाएर मुलुकको अर्थतन्त्रलाई निरन्तर भरथेग गरेका लाखौं नेपाली कोरोनाको कहरमा अप्ठ्यारोमा परेका बेला तिनलाई उद्धार गर्ने सम्बन्धमा सरकारले उद्धार थालनी नगरेकोमा बैठकले दुःख व्यक्त गरेको छ। निर्णयमा भनिएको छ, ‘यो बैठक यथाशीघ्र प्राथमिकताका आधारमा उद्धार सुरु गर्न सरकारसमक्ष माग गर्दछ।’ विदेशमा अलपत्र परेका श्रमिक, विद्यार्थीलाई फर्काउन र खाडी मुलुक लगायतका देशमा कयौं देशमा जीवन गुमाएका नेपालीको शव ल्याउने व्यवस्था गर्न कांग्रेसले माग गरेको छ। भारतका विभिन्न सहरबाट आएर बिना परीक्षण आफ्नो घर पुगेका नेपालीको व्यवस्थापन गर्न बैठकले सरकारसँग माग गरेको छ।

रुकुम हत्याकाण्डबारे सर्वदलीय संसदीय समिति गठन गर्न माग

कांग्रेसले रुकुमको चौरजहारीमा भएको बर्बर एवं सामूहिक हत्याकाण्डको निष्पक्ष अनुसन्धानका लागि सर्वदलीय संसदीय समिति गठन गर्न सरकारसँग माग गरेको छ। निर्णयमा भनिएको छ, ‘कानुनी रूपमा जातीय विभेद र छुवाछूतलाई दण्डनीय बनाइएको भए पनि नयाँ संविधान पछिको नेपालमा पनि अझै विभेदको कारणले यस्ता घटना हुनु दुःखद छ। प्रेम सम्बन्धमा जातीय प्रश्न खडा गरेर भएको हत्याको दोषीलाई कडा कारबाही गर्न यो बैठक माग गर्दछ।’ वैशाख १८ गते रोल्पाको त्रिवेणी गाविसमा बेवारिसे बमको विस्फोटबाट ४ अबोध बालबालिकाको निधन भएको घटनाबारे हालसम्म अनुसन्धान र दोषीको पहिचान नगरिएको भन्दै कांग्रेसले घटनाबारे तत्काल गहिरो अनुसन्धान गर्न र दोषीलाई कारबाही गर्न माग गरेको छ।

बजेट प्रचारमुखी

नेपाली कांग्रेसले आर्थिक वर्ष २०७७/०७८ का लागि प्रस्तुत बजेटले सरकारको प्रचारमुखी चरित्र प्रतिविम्वित गरेको ठहर गरेको छ। केन्द्रीय समितिको निर्णयमा भनिएको छ, ‘मुलुकको वर्तमान कोरोना संक्रमणसँग जुध्न इच्छाशक्ति, कार्ययोजना र बजेट त्यही रुपमा प्रस्ट देखिएन।’ कोरोना महामारीबाट विश्व अर्थतन्त्रलाई परिरहेको असर र नेपालको अर्थतन्त्रमा परिरहेको र पर्ने असरबाट निरपेक्ष रहेर सहज स्थितिमै रहेको झैं ढंगले बजेट आएको कांग्रेसले जनाएको छ। ‘संघीय सरकारको बजेट भए तापनि प्रादेशिक एवं स्थानीय सरकारको विभिन्न कार्य यसमा समावेश गरिएको छ। बजेट विवेकपूर्ण एवं उचित आय स्रोतमा आधारित नभई अत्यधिक रुपमा सार्वजनिक ऋणमा निर्भर रही राष्ट्रिय ऋण निकै बढाउन अग्रसर देखिन्छ’, निर्णयमा उल्लेख छ।