शिबराज ढुंगाना, अछाम, कोरोना सङ्क्रमण पुष्टि भएका अछाममा ११ जनाको सम्पर्कमा आएका दुइ सय २९ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ । मेल्लेखमा ९९ जना, चौरपाटीमा ६४ जना र अछाम अस्पतालमा ६६ जनाको स्वाब सङ्कलन पीसीआर परीक्षणका लागि मङ्गलबार राति नै धनगढी पठाइएको छ ।
मेल्लेखमा कोरोना पुष्टि भएका आठ जनासँगै धनगढीबाट एकै बसमा घर फर्केका थप ९९ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ । सङ्क्रमितसँग यसअघि क्वारेन्टाइनमै रहेका र बसमा आएका व्यक्तिहरूको स्वाब सङ्कलन गरेर परीक्षणका लागि धनगढी पठाइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिक्मत बुढाले जानकारी दिनुभयो ।
चौरपाटी गाउँपालिकाका दुई जना कोरोना सङ्क्रमितसँगै क्वारेन्टाइनमा रहेका र सम्पर्कमा आएका ६४ जनामा मङ्गलबार थ्रोट स्वाब सङ्कलन गरिएको छ । जसमा ६० जना पुरुष र चार जना महिला रहेको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख धनबहादुर थापाले जानकारी दिनुभयो । चौरपाटी गाउँपालिका–२, सोकटमा रहेको क्वारेन्टाइनमा रहेका दुई जनामा यसअघि कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।
कोरोना सङ्क्रमण पुष्टि भएका एम्बुलेन्स चालकको सम्पर्कमा आएका महिला र पुरुष गरेर ६६ जनाको स्वाब सङ्कलन गरिएको अछाम अस्पतालका डाक्टर अतुल भारद्वाजले जानकारी दिनुभयो । अछाम अस्पतालका एम्बुलेन्स चालकमा मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सम्बन्धित स्थानीय तहको समन्वयमा चौरपाटीमा स्वास्थ्य कार्यालयका प्रमुख झनकराज ढुङ्गाना र मेल्लेखमा जनस्वास्थ्य अधिकृत झपटराज ढुङ्गानाको नेतृत्वमा ल्याब टेक्निसियन सहितको टोलीले स्थलगत रुपमै स्वाब सङ्कलन गरेको थियो । एम्बुलेन्स चालकको सम्पर्कमा आएका व्यक्तिको भने अछाम अस्पतालमा स्वाब सङ्कलन गरिएको थियो ।
यस्तै, क्वारेन्टाइनमा रहेका तुर्माखाँद गाउँपालिका–४, तुर्माखाँद र ५ नाडाको दुई क्वारेन्टाइनमा रहेका एक महिलासहित १० जनाको स्वाब मङ्गलबार नै सङ्कलन गरिएको गाउँपालिकाका स्वास्थ्य संयोजक एकिन्द्र वयकले जानकारी दिनुभयो । तुर्माखाँदबाट सङ्कलन गरिएका स्वाब पिसिआर परीक्षणका लागि सुर्खेत पठाइएको गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया