मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका कोरोना सङ्क्रमितलाई आइसोलेसनमा राखेर उपचार शुरु

अछामका कोरोना सङ्क्रमितलाई आइसोलेसनमा राखेर उपचार शुरु

सुदूर आज

शिवराज ढुङ्गाना, अछाम। मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएका १० जनालाई अछाम अस्पतालको आइसोलेसन कक्षमा ल्याएर उपचार प्रारम्भ गरिएको छ । मेल्लेख गाउँपालिकाका–४, कुष्कोटका आठ जना, चौरपाटी गाउँपालिका–२ का एक जना र अछाम अस्पतालका एम्बुलेन्स चालकलाई आइसोलेसन कक्षमा राखेर उपचार भइरहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा. मनोज विष्टले जानकारी दिनुभयो ।

कुष्कोटमा सङ्क्रमित भएका आठै जनालाई ल्याइएको छ भने चौरपाटी गाउँपालिकाका दुई जना सङ्क्रमितमध्ये एक जनामा सामान्य लक्षण देखिएकोले स्थानीय स्वास्थ्य संस्थाबाट उपचार भइरहेको बताइएको छ । आइसोलेसनमा रहेका सबै जनाको अवस्था सामान्य रहेकोले हाल उच्च निगरानीका साथ सामान्य उपचार भइरहेको बताइएको छ ।

मेल्लेखका आठै जना स्थानीय क्वारेन्टाइनमा थिए भने चौरपाटीका युवक बयलपाटा अस्पताल हुँदै धनगढीबाट उपचार गरेर फर्केका हुन् । एम्बुलेन्स चालक आइतबार बिरामी लिएर धनगढीबाट फर्किएको बताइएको छ । एम्बुलेन्स चालकबाहेकका सङ्क्रमित दुई सातायता मात्र भारतबाट घर आएका हुन् ।

यस्तै, आरडिटी परीक्षणमा पोजेटिभ रिपोर्ट देखिएका पञ्चदेवलविनायक नगरपालिकाका तीन जनालाई समेत अछाम अस्पतालको आइसोलेसन कक्षमा राखिएको छ । तीन जनाको थ्रोट स्वाब सङ्कलन गरेर पीसीआर परीक्षणका लागि पठाइएको अस्पतालले जानकारी दिएको छ ।

अछाममा कोरोना पुष्टि भएका १३ जनाको सम्पर्कमा आएकासहित अन्य गरेर दुई सय बढी व्यक्तिको स्वाब सङ्कलन गरेर पीसीआर परीक्षणका क्रममा रहेको छ ।