मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपाको दाबी : जातीय विभेदविरुद्ध अग्रपंक्तिमा छौं

नेकपाको दाबी : जातीय विभेदविरुद्ध अग्रपंक्तिमा छौं


काठमाडौं- सत्तारुढ नेकपाले जातीय विभेदविरुद्ध पार्टी अग्रपंक्तिमा रहेको दाबी गरेको छ।छुवाछूतविरुद्धको राष्ट्रिय दिवसका अवसरमा विज्ञप्ति जारी गर्दै नेकपाले भेदभावविरुद्ध नै पार्टी गठन भएको दाबी गरेको हो।

पार्टीका तर्फबाट महासचिव विष्णु पौडेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘सबैखाले सामन्ती उत्पीडन अन्त्य गर्दै न्यायपूर्ण, समतामूलक र विभेदरहित समाजवादी समाज निर्माण गर्ने लक्ष्य लिएर गठन भएको नेपाल कम्युनिस्ट पार्टीले स्थापना कालदेखि नै यस्ता विभेदविरुद्ध अग्रपंक्तिमा रहेर संघर्ष गर्दै आएको छ।’

संविधानमा दलित समुदायका निम्ति विशेष व्यवस्थासमेत गरिएको उल्लेख गर्दै विज्ञप्तिमा छुवाछूत र जातीय विभेदलाई सामाजिक अपराधका रुपमा दण्डनीय बनाउने कानुनी व्यवस्थासमेत गरिएको जनाइएको छ।

‘तर संवैधानिक र कानुनी हिसाबले यति अग्रगामी परिवर्तन र उपलब्धि हुँदाहुँदै पनि व्यवहारमा अझै पनि दलित समुदायमाथि विभेद र हिंसाका घटना देखापर्नु गम्भीर चिन्ताको विषय हो’, विज्ञप्तिमा भनिएको छ, ‘यसले हामीलाई राजनीतिक रुपमा प्राप्त उपलब्धिलाई हेरेर सन्तुष्ट नहुन र सामाजिक–सांस्कृतिक रुपान्तरणका लागि गम्भीर, सार्थक र योजनाबद्ध प्रयास गर्न घच्घच्याइरहेको छ।’

रुकम पश्चिममा भएको घटनाप्रति पार्टीले भर्त्सना गरेको छ। उक्त घटनाको निष्पक्ष छानबिन गर्न, अपराधीलाई कडाभन्दा कडा कारबाही गर्न र पीडितहरूलाई क्षतिपूर्ति दिलाउन सरकारको गम्भीर ध्यानाकर्षण नेकपाले गराएको छ। ‘हाम्रो पार्टीद्वारा जारी आचारसंहितामा पार्टीका नेताकार्यकर्ताले जातीय समानताको मान्यतालाई आत्मसात गर्नुपर्ने र छुवाछूतजस्तो अपराधमा संलग्न व्यक्तिहरू पार्टीमा रहिरहन नसक्ने स्पष्ट व्यवस्था गरेको छ’, विज्ञप्तिमा भनिएको छ।

नेकपाले मुलुकको संविधान, कानुन र पार्टीको विधान एवं आचारसंहिताका आधारमा यस्ता कुप्रथालाई जरैदेखि निर्मूल गर्न कृतः संकल्पित रहेको व्यहोरा जानकारी गराएको छ। यस्तै पार्टीले वास्तविक समानता र मानव गरिमा स्थापित गर्ने अभियानमा संलग्न हुन सम्बद्ध सबैमा आह्वान गरेको नेपाल समयमा खबर छ।