मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

किन बन्द हुँदै छ कोरोना बीमा ?

किन बन्द हुँदै छ कोरोना बीमा ?

सुदूर आज

काठमाडौं – शुक्रबारदेखि कोरोना बीमा बन्द हुने भएको छ। कोरोनाको संक्रमण बढ्दै गएपछि कम्पनीहरुले जोखिम बढी भएको भन्दै बीमा बन्द गर्ने निर्णय गरेका हुन्।निर्जीवन बीमा कम्पनीहरूको संगठन नेपाल बिमक संघका महासचिव चंकी क्षेत्रीले संघले भोलि अर्थात् शुक्रबारदेखि पोलिसी नबेच्ने निर्णय गरेको जानकारी दिए।

उनले भने, ‘कोरोनाको संक्रमण दैनिक रुपमा बढ्दै गएको छ। यस्तै हो भने बीमा कम्पनीहरुलाई धान्न मुस्किल हुनेछ। कोरोनाको बीमाको रिइन्स्योरेन्स पनि गरेको छैन। सबै कम्पनी आफैंले व्यहोर्दा कम्पनीहरु समस्यामा पर्न सक्ने भएकोले हामीले केही समयको लागि कोरोना बीमा स्थगन गर्न लागेका हौं। कोरोना बीमा बारे सरकारको नीति स्पष्ट भएपछि मात्र खोल्ने वा नखोल्ने बारे निर्णय लिनेछौं।’

सरकारले आगामी आर्थिक वर्षको बजेटमा सामूहिक कोरोना बीमा गर्दा प्रिमियममा ५० प्रतिशत छुट दिने स्पष्ट उल्लेख गरेको छ। तर, बीमाको प्रिमियमा सरकारले ५० प्रतिशत छुट दिने भनेपनि सो रकम कसले दिने भन्ने स्पष्ट नभएको र बीमा कम्पनीहरुलाई सो बीमा पोलिसिमा सहुलियत दिनेबारेमा पनि केही नबोलिएको महासचिव क्षेत्रीले बताए।

बीमा समितिले गत बैशाख ४ गतेदेखि कोरोना बीमा गर्न बीमा कम्पनीहरुलाई निर्देशन दिएको थियो। बीमा कम्पनीहरुले भने बैशाख ७ गतेदेखि पोलिसि जारी गर्न थालेका थिए। यता बीमा समितिले पनि यसमा सहमति जनाइसकेको छ। समितिले सार्वजनिक सूचना नै जारी गरेर कोरोना बीमा स्थगित गरिएको जानकारी गराउने जनाएको छ। विहीबार संघ र समितिको छलफलपछि सो निर्णय गरिएको हो।

नयाँ योजना भए पनि कोरोना बीमामा सर्वसाधारणको आकर्षण निक्कै बढेको देखिएको थियो। एक महिना १५ दिनको अवधिमा तीन लाखभन्दा बढीले कोरोना बीमा गराइसकेका छन्। जसबापत् १६ करोड रुपैयाँभन्दा धेरै बीमा शुल्क उठाइसकिएको छ। तर, हालसम्म कोरोनाको बीमा दाबी भने कसैको पनि परेको छैन।

समितिले एक हजार रुपैयाँमा एक लाख रुपैयाँको र पाँच सय रुपैयाँमा ५० हजार रुपैयाँ बराबरको कोरोना बीमा गर्न सकिने व्यवस्था गरेको थियो। कोरोना बीमामा परिवारको गर्ने हो भने एक लाख रुपैयाँको लागि छ सय रुपैयाँ र ५० हजार रुपैयाँको लागि तीन सय रुपैयाँ रकम तिर्नुपर्ने र बीमाको अवधि एक वर्ष हुने व्यवस्था गरिएको थियो। सरकारले आगामी आर्थिक वर्षको बजेटमा नै कोरोना बीमा हुने उल्लेख गरेको छ। सामूहिक कोरोना बीमा गर्दा प्रिमियममा ५० प्रतिशत छुट दिने बजेटमा उल्लेख छ। – नेपाल समय