सुर्खेत- कोरोना भाइरसको संक्रमणका कारण सुर्खेतमा एक जनाको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका वडा नं १ हाँसेका २० वर्षे युवाको कोरोना संक्रमणका कारण मृत्यु भएको हो ।
बिहीबार बिहान करिव पौने २ बजेतिर क्वारेन्टाइनमै शंकास्पद ढंगले ज्यान गुमाएका ति युवाको स्वाव परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले नोपल समयलाई जानकारी दिए ।
‘क्वारेन्टाइनमै संकास्पद मृत्यु भएका युवा कोरोना संक्रण पुष्टि भयो ।’ आचार्यले भने, ‘आरडीटी टेष्ट गर्दा रिपोर्ट नेगेटिभ आएको रहेछ तर पीसीआर परीक्षण गर्दा कोरोना सक्रमण देखियो ।’
जेठ ९ गते भारतको मुम्वइबाट गाउँ फर्किएका उनी १४ पञ्चपुरी नगरपालिका वडा नं–९ विद्यापुरमा रहेको जनता माध्यमिक विद्यालयको क्वारेन्टाइनमा बसेका थिए । क्वारेन्टाइनको अवधि पुरा भएपछि बुधबार साँझ उनीसहित ६ जनालाई थप सात दिन होम क्वारेन्टाइनमा बस्न भनेर घर फर्काइएको थियो ।
क्वारेन्टाइस्थलबाट रातको करिव ११ बजे गाउँ पुगेका मृतकसहित ६ जनालाई घर नजिकैको माहुरी पालन स्रोत केन्द्रको भवनमा राखिएको थियो । पञ्चपुरी गाउँपालिका वडा नं १ का वडाध्यक्ष धनबहादुर थापाका अनुसार आरडीटी परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि होम क्वारेन्टाइनमा बस्ने सर्तका घर पठाइएको थियो ।
यसअघि हिजो मात्रै कोरोनाबाट नेपालमा १० औं व्यक्तिको मृत्यु भएको पुष्टि गरिएको थियो । पाल्पाका ४५ वर्षीय एक पुरुषले कोरोनाबाटै ज्यान गुमाएका नेपाल समयमा खबर छ।
प्रतिक्रिया