मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका स्थानीय तह आफै काेराेना परीक्षणका सामग्री खरिद गर्दै

अछामका स्थानीय तह आफै काेराेना परीक्षणका सामग्री खरिद गर्दै

सुदूर आज

शिवराज ढुङ्गाना, अछाम। कोरोना आशङ्का गरिएका व्यक्तिको परीक्षणमा आवश्यक पीसीआर र आरडीटी किट चरम अभाव भएपछि अछामका स्थानीय तह आफैँ खरिद गर्न थालेका छन् । तुर्माखाँद, ढकारी, मेल्लेख चौरपाटी, बान्नीगढी जयगढगाउँपालिका र कमलबजार नगरपालिकाले स्वाब सङ्कलन गर्ने भीटीएम र आरडीटी किट किन्न थालेका हुन् । स्थानीय तहले बढीमा एक हजारदेखि कम्तीमा डेढसय र्यापिड डाइगोन्सिस टेष्ट (आरडिटी) किट र पीसीआर किनेका छन् ।

सङ्घ र प्रदेशको भर परेर परीक्षण बिना घर पठाउँदा कोरोना सङ्क्रमण फैलनसक्ने भन्दै अछामका स्थानीय तहले परीक्षण सामग्री खरिदमा लागेको बताइएको छ । मेल्लेख गाउँपालिकाले स्वाब सङ्कलन गर्ने भीटीएम पाँच सय थान र नौ सय आरडिटी किट किनिसकेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिक्मत बुढाको भनाइ छ । तुर्माखाँद गाउँपालिकाले पाँच सय भीटीएम र एक हजार आरडीटी किट किनेको गाउँपालिका श्रोतले जानकारी दिएको छ ।

ढकारी गाउँपालिकाले दुई सय भीटीएम र पाँच सय आरडिटी किट मगाएको गाउँपालिका स्राेतले जानकारी दिएको छ । बान्नीगढी जयगढ गाउँपालिकाले पाँच सय आरडीटी किट र केही भीटीएम खरिद गर्ने भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेशराज ढुङ्गानाले जानकारी दिनुभयो । क्वारेन्टाइनमा रहेका व्यक्ति परीक्षणको अभावमा व्यवस्थापनमा स्थानीय तहलाई सकस भइरहेको छ । चौरपाटी गाउँपालिकाले केही भीटीएम र आरडीटी किटको अर्डर गरिसकेको गाउँपालिका स्वास्थ्य शाखा प्रमुख धनबहादुर थापाको भनाइ छ ।

“परीक्षण नै नगरी घर कसरी पठाउने भनेर आफैँ भीटीएम र किट किनेर ल्याएका छौँ ।” तुर्माखाँद गाउँपालिकाका अध्यक्ष पुष्पराज शर्माले भन्नुभयो । “केन्द्र र प्रदेशको भर परेर भएन, सामान सुर्खेत पुगिसक्यो ।” समयमै परीक्षणको अभावमा स्थानीय तहका क्वारेन्टाइनमा रहेका व्यक्तिलाई रोकेर राख्नुपर्ने बाध्यता रहेको जनप्रतिनिधिको भनाइ छ ।

बिना परीक्षण घर पठाउने वा कति दिनसम्म क्वारेन्टाइनमा राख्ने भन्नेमा स्थानीय तहमा अन्यौल थपिएको मेल्लेख गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हिक्मत बुढाको भनाइ छ । प्रदेश र सङ्घ सरकारप्रति निकै आक्रोशित भएका जनप्रतिनिधिले सबै जिम्मा स्थानीय तहको टाउको हालेर परीक्षण सामग्री समेत समयमै उपलब्ध नगराएको आरोप छ ।

क्वारेन्टाइनबाट घर फर्कने दिनमा व्यक्तिको स्वास्थ्य अवस्था अनुसार स्थानीय तहले भीटीएम वा आरडीटी परीक्षण गर्ने भएका हुन् । कोरोनाको लक्षणसँग मिल्दो लक्षण देखा परेमा समयमै स्वाब सङ्कलन गरेर परीक्षणका लागि पठाउन सहज हुने स्थानीय तहका जनप्रतिनिधिको भनाइ छ । थोरथोरै आरडीटी र भीटीएम किनेर आवश्यक व्यक्तिमा परीक्षण हुने कमबलजार बजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खडकबहादुर विष्टले बताउनुभयाे । अन्य स्थानीय तहले समेत परीक्षण सामग्री किन्ने सोच बनाएका बताइएको छ । अछामका १० स्थानीय तहका विभिन्न वडामा रहेका क्वारेन्टाइनमा छ हजार भन्दा बढी मानिस बसेको बताइएको छ ।