मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दीपायल र पाटन विमानस्थल कालोपत्रेको काम सम्पन्न

दीपायल र पाटन विमानस्थल कालोपत्रेको काम सम्पन्न


धनगढी : लामो समयदेखि अलपत्र परेका डोटीको दीपायल र बैतडीको पाटन विमानस्थल कालोपत्रेको काम सम्पन्न भएको छ। झण्डै दुई दशकदेखि गौ–चरणमा परिणत भएका दुवै विमानस्थल कालोपत्रे भएपछि पुनः सञ्चालनमा आउने भएका हुन्। सुदूर पहाडको सबैभन्दा पुरानो दीपायल विमानस्थलमा कालोपत्रको काम सकिएपछि धावनमार्गको साइडका पर्खाल लगायतका अन्य क्षेत्रमा रेखाङ्कन काम पनि सकिएको छ।

करिब साढे पाँच करोडको लगानीमा दीपायल विमानस्थल कालोपत्रे तथा स्तरोन्नतीको काम सम्पन्न भएको हो। डोटी विमानस्थल नियमित संञ्चालनमा आए पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने डोटी उद्योग वाणिज्य संघका महासचिव दीपक बहादुर खड्काले बताए। ‘दुई दशकदेखि बन्द रहेको डोटी विमानस्थल कालोपत्रे भएको छ।’, उनले भने, ‘अहिले लकडाउनका कारण पर्यटन क्षेत्र धरासायी छ, तर विमानस्थलमा नियमित जहाज संञ्चालन भए खप्तड लगायतका अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास हुन्छ।’

सुदूरपश्चिमको दोस्रो ठूलो बैतडीको पाटन विमानस्थलमा कालोपत्रे सम्पन्न भएसँगै सञ्चालनको पर्खाइमा रहेको छ। विमानस्थलमा पाँच सय ९० मिटर लम्बाई र २० मिटर चौडाईको धावनमार्ग कालोपत्रे गरिएको हो भने ७० मिटर लम्बाइ र ३० मिटर चौडाइको एप्रोन कालोपत्रे गरिएको हो। यसमा ११ करोड बढी बजेट खर्च भएको छ। अब नियमित संञ्चालन गर्न सके ग्रामिण क्षेत्रका नागरिकलाई पनि गुणस्तरीय स्वास्थ्य सेवा लिन सहज हुने देखिएको बैतडीको पाटन नगरपालिकाका मेयर केशव बहादुर चन्दले बताए।

‘विमानस्थल संञ्चालन भए धेरै फाईदा छन्’, उनले भने, ‘ धार्मिक पर्यटनसंगै आकस्मिक विरामीलाई जिल्ला बाहिर पठाउन सहज हुन्छ।’ अहिले पहाडी जिल्लाको स्वास्थ्य अवस्था कमजोर भएका कारण धेरैले उपचार नपाएर ज्यान गुमाउनुपर्ने बाध्यता रहेको उनले बताए। लामो समयदेखि अलपत्र दुई विमानस्थल कालोपत्रेको काम सम्पन्न भएपनि परीक्षण उडान गर्न भने लकडाउनका कारण समस्या भईरहेको छ। गत वर्षको असारमा सक्ने लक्ष्य सहित २०७४ सालमा कालोपत्रे सहितको निर्माण कार्य सुरु गरिएको थियो।

विमानस्थल कालोपत्रको काम सकिएपछि धावन मार्गको पर्खाल, तार जाली लगाउने काम पनि सकिएको छ। तर संञ्चालनको लागि भने नेपाल नागरिक उड्यन प्राधिकरणबाट कुनै तयारी नभएको दीपायल विमानस्थल कालोपत्रेको जिम्मा पाएको सपना ग्याल्भा तथा भेबी कन्ट्रकसनका साईड प्रमुख राजेन्द्र विष्टले बताए। ‘हाम्रोतर्फबाट कालोपत्रेको सम्पुर्ण काम सम्पन्न भयो।’, उनले भने, ‘प्राधिकरणबाट भने कालोपत्रे हेर्नको लागि पनि कोही आएका छैनन्।’

सुदूर पहाडका विमानस्थलमा नियमित संञ्चालन भए त्यहाँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भुमिका खेल्ने विश्वास गरिएको छ। खासगरी सुदूर पहाडका प्रमुख पर्यटकिय स्थल खप्तड, बडिमालिका, शैलेश्वरी, उग्रतारा, घटालथान, बडीकेदार, वैद्यनाथ धाम लगायतका धार्मिक क्षेत्रमा पर्यटक भित्र्याउन सहज हुने अपेक्षा गरिएको दिनेश खबरमा समाचार छ।