मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

संविधान संशोधनमा एकताबद्ध हुन सरकारको आह्वान

संविधान संशोधनमा एकताबद्ध हुन सरकारको आह्वान

सुदूर आज

काठमाडौँ – उपप्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन सञ्चालन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक ईश्वर पोखरेलले संविधान संशोधनमा एकताबद्ध हुन आह्वान गरेका छन्। आज विज्ञप्ति जारी गर्दै विभिन्न माग राखी आन्दोलन गरेकाहरुलाई अहिलेको अवस्थाप्रति गम्भीर र संवेदनशील हुन आग्रह गर्दै उनले शनिबार संसद्बाट संविधान संशोधन हुन लागेकाले त्यसमा एकताबद्ध हुन आग्रह गरे।

“लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सालाई नेपालको निशाना छापमा प्रतिविम्बित गर्ने गरी प्रतिनिधिसभाले भोलि गर्ने संविधान संशोधनसम्बन्धी निर्णय नेपालको इतिहासको एउटा महत्वपूर्ण क्षण हो”, विज्ञप्तिमा भनिएको छ, “नेपाली जनताले लामो समयदेखि प्रतीक्षा गरिरहेको यस विशेष दिनलाई हार्दिकरुपमा स्वागत गर्न र सिङ्गो राष्ट्र यस विषयमा एक रहेको यथार्थलाई पुनःपुष्टि गर्न हामी सबै दाजुभाइ दिदीबहिनीलाई हार्दिक अनुरोध गर्दछौँ।”

उनले आफ्ना माग राखी शान्तिपूर्ण रुपमा उपस्थित हुन पाउनु लोकतान्त्रिक अधिकारको विषय भए पनि सम्बद्ध सबैलाई अहिलेको अवस्था सामान्य नरहेको र सबै कोरोना सङ्क्रमणको उच्च जोखिममा रहेको अवस्थाप्रति गम्भीर र संवेदनशील हुन आग्रह गर्नु भएको छ। “लकडाउनलाई क्रमशः खुकुलो बनाउँदै जनजीवनलाई सहज अवस्थामा फर्काउने निर्णय भइसकेको परिप्रेक्ष्यमा सामाजिक दूरीलाई कायम राख्नु र सङ्क्रमणको जोखिमलाई नियन्त्रण गर्न सहयोग गर्नु हामी सबैको दायित्व हो”, “थोरै पनि असावधानीले सङ्क्रमणले भयावह महामारीको रुप लिन सक्ने खतराप्रति सजग हुन सम्बद्ध सबैमा आह्वान गर्दछौँ।” विज्ञप्तिमा उल्लेख गरिएको छ।

कोभिड –१९ सङ्क्रमण तथा नियन्त्रण उच्चस्तरीय समितिका संयोजक पोखरेलले विश्वका विभिन्न राष्ट्रजस्तै नेपालले पनि यतिबेला कोरोना महामारीका विरुद्ध कठिन सङ्घर्ष गरिरहेको उल्लेख गर्दै सरकारको योजना र  नागरिकको साथ सहयोगबाट हालसम्म सरकारले कोरोना सङ्क्रमणलाई धेरै हदसम्म प्रभावकारी नियन्त्रण गरिरहे पनि केही समययता सङ्क्रमण बढ्दै गइरहेको र आगामी दिनमा यसमा थप वृद्धि हुने जोखिम देखिएको बताए।

“जोखिमको यो विशेष स्थितिलाई ध्यानमा राख्दै विज्ञ, सार्वजनिक सञ्चारमाध्यम र आम नागरिकबाट प्राप्त सुझावलाई समेत ध्यानमा राख्दै कोरोना महामारीविरुद्धको योजनालाई थप प्रभावकारी बनाउन सरकार प्रतिबद्ध रहेको छ”, विज्ञप्तिमा भनिएको छ।