मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेर्नुस ट्विटरमा धेरै फलोअर भएका १५ नेपाली, कसको कति ?

हेर्नुस ट्विटरमा धेरै फलोअर भएका १५ नेपाली, कसको कति ?

सुदूर आज

काठमाडौं– सन् २००६ मा स्थापना भएको माइक्रोब्लगिङ साइट ट्विटर विश्वभर लोकप्रिय छ। यसका प्रयोगकर्ता दिनानुदिन बढ्दो  छन्।

सीमित शब्दमा आफ्नो भनाइ राख्नुपर्ने विशेषताले पनि ट्विटरलाई लोकप्रिय बनाएको छ। अन्य सामाजिक सञ्जालको तुलनामा बौद्धिक जमातमा ट्विटरको प्रयोग बढी भएको मानिन्छ। ट्विटरमार्फत त्यस्तै आफ्नो भनाइ सार्वजनिक गर्ने विश्वका चर्चित नेता र सेलिब्रेटीहरूकाे संख्या पनि धेरै छ। 

नेपालमा पनि ट्विटर प्रयोगकर्ता लाखौं छन्। तीमध्ये शनिबार बिहानसम्म सबैभन्दा धेरै फलोअर भएका १५ व्यक्तिको नाम यहाँ समेटिएको छ।

१. डा. बाबुराम भट्टराई – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेपालमा सबैभन्दा धेरै फलोअर भएका व्यक्ति हुन्। शुक्रबार बिहानसम्म उनका फलोअर १२ लाख ५६ हजारभन्दा बढी छन्। भट्टराईले भने ६२७ जनालाई फलो गरेका छन्।

२. गगन थापा – नेपाली कांग्रेसका नेता गगन थापाका फलोअर १० लाख ३५ हजारभन्दा बढी छन्। युवा पुस्ताबीच निकै लोकप्रिय थापाले एक हजार ११० जनालाई फलो गरेका छन्।

३. रवीन्द्र मिश्र – साझा पार्टीका संयोजक रवीन्द्र मिश्रका फलोअर ९ लाख ४६ हजार ९०० भन्दा बढी छन्। उनले ५०० जनालाई फलो गरेका छन्। बीबीसी नेपाली सेवाका पूर्वप्रमुख मिश्र पत्रकारिता छोडेर राजनीतिमा होमिएका हुन्।

४. कमल थापा – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा पनि ट्विटरमा निकै सक्रिय छन्। उनले आफ्ना हरेक विचार ट्विटरमार्फत सार्वजनिक गर्दै आइरहेका छन्। उनका ७ लाख ६ हजार १०० बढी फलोअर छन् भने १९९ जनालाई फलो गरेका छन्।

५. केपी शर्मा ओली – प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीका ५ लाख ७९ हजारभन्दा बढी फलोअर छन्। उनले ७७ जनालाई फलो गरेका छन्। प्रधानमन्त्रीको अफिसियल ट्विटर अकाउन्टमा ६ लाख ६ हजार फलोअर छन्। अफिसियल ट्विटर अकाउन्ट भने जो प्रधानमन्त्री हुन्छ, उसैको सचिवालयले चलाउँदै आएको छ।

६. विजयकुमार पाण्डे – पत्रकार विजयकुमारका ४ लाख ९० हजार फलोअर छन् भने उनले ३९ जनालाई फलो गरेका छन्। विजयकुमार मदन पुरस्कार विजेता पुस्तक ‘खुसी’ का लेखक पनि हुन्।

७. नारायण वाग्ले – पत्रकार नारायण वाग्लेलाई ४ लाख २९ हजार २०० जनाले फलो गर्छन्। उनले भने ६६६ जनालाई मात्र फलो गरिरहेका छन्। उनले लेखेको ‘पल्पसा क्याफे’ चर्चित उपन्यास हो।

८. मनीषा कोइराला – अभिनेत्री मनीषा कोइरालाका ३ लाख ८७ हजार ७०० जना फलोअर छन्। उनले २७८ जनालाई फलो गर्छिन्। बलिउडकी चर्चित नायिका कोइरालाले केही नेपाली चलचित्रमा पनि अभिनय गरेकी छन्। पछिल्ला केही वर्षदेखि उनले स्वदेशमै समय बिताइरहेकी छन्।

९. भूषण दाहाल – पत्रकार भूषण दाहाल टेलिभिजन बहसमा निकै रुचाइएका व्यक्ति हुन्। उनलाई ३ लाख ७१ हजार १०० बढीले फलो गर्छन्। दाहालले ३५६ जनालाई फलो गरेका छन्।

१०. मुकुन्द घिमिरे – घिमिरेका फलोअर ३ लाख ३७ हजारभन्दा बढी छन्। उनले भने कसैलाई पनि फलो गरेका छैनन्। लोकप्रियताभन्दा लेख्ने रमाइलो प्रस्तुतिका लागि उनलाई थुप्रैले फलो गरेका छन्।

११. कनकमणि दीक्षित – पत्रकार कनकमणि दीक्षितलाई ३ लाख ३४ हजार ८०० बढीले फलो गरिरहेका छन्। नागरिक अभियन्तासमेत रहेका दीक्षितले ३१८ जनालाई फलो गरेका छन्।

१२. बुद्धिसागर – लेखक बुद्धिसागरलाई ३ लाख ९ हजार ६०० बढीले फलो गर्छन्। ‘कर्णाली ब्लूज’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धिसागरले ९९८ जनालाई फलो गरिरहेका छन्।

१३. प्रदीप ज्ञवाली – परराष्ट्रमन्त्री तथा नेकपाका नेता प्रदीप ज्ञवाली पनि ट्विटरमा सक्रिय छन्। उनलाई ३ लाख ३ हजार ६०० बढीले फलो गर्छन्। ज्ञवालीले १ हजार ६३२ जनालाई फलो गरिरहेका छन्।

१४. पुष्पकमल दाहाल – नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का २ लाख ७३ हजार १०० फलोअर छन्। उनले पनि कसैलाई फलो गरेका छैनन्।

१५. सुधीर शर्मा – पत्रकार सुधीर शर्मालाई २ लाख ६६ हजार ६०० बढीले फलो गरेका छन्। कान्तिपुर दैनिकका प्रधान सम्पादक शर्माले ६८४ जनालाई फलो गर्छन्। नेपाल समयबाट

(यो तथ्यांक हामीले खोजी गर्दा  पाएका  हौं। यहाँ प्रस्तुत गरिएभन्दा धेरै फलोअर भएका व्यक्ति पनि हुन सक्छन्।)