मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्वास्थ्य सामग्री खरिदमा १४ करोड बचत भएको छ : विभाग

स्वास्थ्य सामग्री खरिदमा १४ करोड बचत भएको छ : विभाग


काठमाडौं- स्वास्थ्य सेवा विभागले स्वास्थ्य सामग्री खरिदमा सरकारलाई १४ करोड ८७ लाख बचत भएको दाबी गरेकाे छ। स्वास्थ्य सेवा विभाग अन्तर्गतको आपूर्ति व्यवस्थापन महाशाखाले पीसीआर परीक्षणका लागि आवश्यक पर्ने रिएजेन्ट तथा किट खरिदमा आह्वान गरेको टेण्डरबाट सरकारलाई १४ करोड ८७ लाख बचत भएको दाबी गरेकाे हाे।

स्वास्थ्य सामग्री खरिद प्रकृयामा उठेका विषयमा प्रष्ट पार्दै स्वास्थ्य सेवा विभाग अन्र्तगत व्यवस्थापन महाशाखाका प्रमुख डा. रमेश खरेलले १ लाख ५० हजार पीसीआर किट तथा रिएजेन्ट खरिदका लागि ४२ करोड ८ लाख ११ हजार ५ सय रुपैयाँ छुट्टाएको र कम्पनीसँग २७ करोड २१ लाखमा सम्झौता भएको जानकारी दिए।

जसबाट १४ करोड ८७ लाख अर्थात् ३५.३४ प्रतिशत रकम नेपाल सरकारको कोषमा बचत भएको उनले जानकारी दिए। स्वास्थ्य सेवा विभागले ओम सर्जिकललाई स्वास्थ्य सामग्री खरिद गर्न दिएको थियो। विभिन्न ११ वटा कम्पनीले कम मूल्यमा स्वास्थ्य सामग्री खरिदका लागि प्रस्ताव गरे पनि विभागले १२ औँ नम्बरको ओम सर्जिकललाई महंगोमा खरिदको लागि स्विकृति दिएपछि अनियमितताको आरोप लाग्दै आएको थियो।

डा. खरेलले भने, ‘प्राविधिक विज्ञहरुको लिखित प्रतिवेदनको आधारमा ११ नम्बरसम्मका बोलपत्र दाताहरुले निर्धारित मापदण्ड नपुगी प्राविधिक रुपमा असफल रहेकाले बोलपत्र अस्वीकृत गरिएको हो।’ यस खरिद प्रकृयामा कुनै पनि किसिमको राजनीतिक दवाव र प्रभाव नभएको विभागको दाबी छ। र खरिद प्रकृयाको कानुन बमोजिम हुने भएकाले कुनै शंका नगर्न डा. रमेश खरेलले आग्रह गरे।

सुरुको अवस्थामा पीपीई र पीसीआर रिएजेन्ट, भीटीएम लगाएतका सामग्रीको अभाव भए पनि पछिल्लो समयमा पीपीई पर्याप्त मात्रामा र अन्य स्वास्थ्य सामग्री उचित मौज्दात रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ओम सर्जिकलसँग गत वैशाख ५ गते सम्झौता भएको थियो। – नेपाल समय