मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कर्णालीका सबै जिल्लामा पुग्यो कोरोना

कर्णालीका सबै जिल्लामा पुग्यो कोरोना


सुर्खेत- कर्णालीका सबै जिल्लामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएको छ। सबैभन्दापछि अर्थात जेठ ५ गते पहिलो संक्रमण देखिएको कर्णालीमा आजसम्म आइपुग्दा प्रदेशका १० वटै जिल्लामा कोरोना संक्रमण फैलिएको हो।

कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार शनिबार रुकुमपश्चिमको मुसिकोट नगरपालिका ११ का ३३ वर्षीया पुरुषमा संक्रमण पुष्टि भएसँगै कोरोना प्रदेशभर फैलिएको हो।

शनिबार राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएको पीसीआर परीक्षणमा रुकुममा ती युवामा संक्रमण पुष्टि भएको मन्त्रालयका स्वास्थ्य सेवा महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए। रुकुमका ती युवासहित कर्णालीमा थप ११ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो। जसमध्ये सल्यानको वनगाड कुपिन्डे नगरपालिका वडा नम्बर २, ३, ५ र ६ मा एक/एक जना र वडा नम्बर ४ मा दुई जना छन्।

सुर्खेतको भेरीगंगा नगरपालिका वडा नम्बर ७ र ८ मा एक/एक जना र दैलेखको महावु गाउँपालिका वडा नम्बर १ मा दुई जना संक्रमित छन्। योसँगै कर्णालीमा कोरोना संक्रमितको संख्या १२ सय ५६ पुगेको छ। संक्रमितमध्ये दैलेखमा सबैभन्दा बढी अर्थात सात सय ११, सुर्खेतमा दुई सय ७९, सल्यानमा एक सय ६९, कालिकोटमा ४२, जुम्लामा २४, जाजरकोटमा १०, मुगुमा दुई र हुम्ला, डोल्पा तथा रुकुम पश्चिममा एक/एक जना छन्।

कर्णालीका प्रयोगशालामा गरिएको परीक्षणमा सुदूरपश्चिम प्रदेशका १६ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। त्यस्तै, कर्णालीमा आज १४ जना कोरोनामुक्त भएका छन्। दैलेखस्थित नौमुले आइसोलेसन सेन्टरबाट सात, सुर्खेतस्थित प्रदेश अस्पताल तथा सल्यानस्थित सल्यान बहुमुखी क्याम्पसबाट तीन/तीन र जाजरकोट अस्पतालबाट एक जना कोरोनामुक्त भएका छन्। योसँगै कर्णालीमा कोरोना संक्रमणमुक्त हुनेको संख्या पाँच सय ३१ जना पुगेको छ।