मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबैभन्दा ठूलो विश्वविद्यालय त हामी उभिएका माटो हो, प्रकृतिबाट के सिक्ने ?

सबैभन्दा ठूलो विश्वविद्यालय त हामी उभिएका माटो हो, प्रकृतिबाट के सिक्ने ?


विद्यालय, विश्वविद्यालय, पुस्तक, पुस्तकालय, गुरु । हाम्रो जीवनमा सिक्ने र सिकाउने यी मात्र पर्याप्त छैनन् । तर, जब केही सिक्ने, जान्ने, बुझ्ने कुरा गर्छौ, तब हामी विद्यालय सम्झन्छौ । पुस्तक सम्झन्छौ । शिक्षक सम्झन्छौ ।

सबैभन्दा ठूलो विश्वविद्यालय त हामी उभिएका माटो हो । हाम्रो प्रकृति हो । प्रकृतिबाट नै हामीले जीवनका अमूल्य पाठ पढ्न सक्छौ । जीवनको आयमलाई बुझ्न सक्छौ । जीवनको मिठास र सुगन्ध अनुभव गर्न सक्छौ । प्रकृति वास्तवमै खुला पुस्तक हो । ज्ञान र विवेकको खजना हो ।

प्रकृतिबाट के सिक्ने ?

एकपटक सोच्नुहोस् त, फूलहरु नफुलिदिएको भए ? हरियाली नभइदिएको भए ? रंगहरुको अस्तित्व नभइदिएको भए ? मानौ, संसार श्यामश्वेत हुन्थ्यो । यदि संसार श्यामश्वेत भइदिएको भए के हुन्थ्यो ? हामी रंगविरंगी दृश्यहरुमा रमाउने थिएनौ । संसार उजाड र उदास हुन्थ्यो । रंगविरंगी फूलहरु फुल्छन्, रुख-विरुवामा हरियाली छाउँछ । यी सबै दृश्यले हामीलाई भुलाएको छ ।

यसको अर्थ प्रकृतिले नै त हो हामीलाई उत्साह, उमंग दिएको । प्रकृतिको यही गुण हामीले आफुमा किन विकास नगर्ने ? हामी एकअर्काको परिपुरक भएर नै बाँच्ने हो । चराचर जगत हाम्रो लागि र हामी उनीहरुको लागि हो । त्यसैले हामी प्रकृतिसँग एकाकार भएर हातेमालो गरेर बाँच्नुपर्छ ।

हामी सोच्छौ, मेरो जीवनमा म एक्लो छु । म एक्लै बाँच्छु । म एक्लै बाँच्न सक्छु । तर, यो संभव छैन । रुख-पात, फूल, किरा-फट्याङ्ग्रा, सर्प, भ्यागुतो सबै हाम्रा मित्र हुन् । सबैसँग हातेमालो गरेर नै हाम्रो जीवन बाँच्न संभव छ । यतिसम्म कि प्रकृतिमा हाम्रो आँखाले नदेखिने सुक्ष्म जीवाणुसँग समेत हाम्रो जीवनको खास सम्बन्ध रहन्छ ।

त्यसैले हामी प्रकृतिबाट बिच्छेद भएर होइन, अरु एककार भएर बाँच्ने हो । हामी आफुमात्र सर्वेसर्वा हुन सक्दैनौ । हामी आफुमात्र बाँच्न सक्दैनौ । यसको अर्थ के हो भने प्रकृतिमा जे-जति बाँचेका छन्, ति हाम्रा लागि पनि बाँचेका छन् । सबैसँग हामीले समूचित व्यवहार गर्नुपर्छ, समूचित सम्बन्ध स्थापित गर्नुपर्छ ।

प्रकृतिले आफ्नो कर्म र धर्म कहिल्यै छाड्दैन । हामी त कहिले काहीँ आफ्नो कर्म छाड्छौ, धर्म छाड्छौ । पथभ्रष्ट हुन्छौ । तर, प्रकृतिले कहिल्यै त्यस्तो बेइमानी गर्दैन । यसबाट के सिक्न सकिन्छ भने, हामीले पनि आफ्नो जीवनको लय समात्न सक्नुपर्छ । आफ्नो जीवनको गति समात्न सक्नुपर्छ । तब नै हामीले सार्थक जीवन बाँच्न सक्छौ ।

सामान्य कुरा, जस्तो कि समय, गति, निरन्तरता । प्रकृतिले यही कुरा हामीलाई बोध गराउँछ । जस्तो हरेक दिन घाम उदाउँछ, हरेक दिन घाम अस्ताउँछ । दिनपछि रात आउँछ, रात पछि दिन । वषर्ायाममा पानी पर्छ । हिँउदमा वायुमण्डल चिसो हुन्छ । यि नियमित प्रक्रिया हुन् । र, यो प्रक्रिया सदियौ-सदियौंदेखि उस्तै र उसैगरी चलिरहेको छ । बाषिर्क चक्र अनुसार सबैकुरा आफ्नो लय र गतिमा छ ।

प्रकृतिले जति लिन्छ, त्यो भन्दा बढी दिन्छ । प्रकृतिबाट हामीले अक्सिजन पाउँछौ, जसले हाम्रो प्राण रहन्छ । प्रकृतिले हामीलाई अन्नपानी दिन्छ, जसले हाम्रो प्राण धानिन्छ । प्रकृतिले हामीलाई फलफूल दिन्छ, जसले हामीलाई स्वाद र स्वास्थ्य दिन्छ । प्रकृति आफैमा दाता हुन् । प्रकृतिले निस्वार्थ र हार्दिकतापूर्वक हामीलाई केही न केही दिएका छन् । गुण लगाएका छन् ।

तर, हामी अरुको लागि यति हार्दिकतापूर्वक बाँच्छौ ? के हामी अरुका लागि समर्पित जीवन बाँच्छौ ? हामी त ‘मै खाउँ, मै लाउँ’को चक्करमा घुमिरहेका हुन्छौ । के प्रकृतिबाट हामीले जीवनका यी आयमहरु अनुसरण गर्न सक्दैनौ ? – अनलाईनखबर