मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्थायी कमिटी बैठकको पूर्व सन्ध्यामा दाहाल ओलीबीच भेट

स्थायी कमिटी बैठकको पूर्व सन्ध्यामा दाहाल ओलीबीच भेट


काठमाडौँ- नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले मंगलबार बालुवाटारमा छलफल गरेका छन्। बुधबार हुने पार्टी स्थायी कमिटी बैठक अघि मंगलबार दिउँसो लामै समय छलफल गरेका दुई अध्यक्षबीच वार्ताका अजेण्डा के के थिए भन्ने खुलाइएको छैन।

पार्टी स्थायी कमिटीका सदस्यहरुले पनि वुधबारको बैठकमा छलफल हुने अजेन्डा बारे कुनै जानकारी नआएको बताएका छन्। स्थायी कमिटी सदस्य वेदुराम भुसाल बैठकका लागि कुनै कार्यसूची नदिइए पनि सरकार र दलको कामको समीक्षा, आगामी दिनको कार्यभार र पार्टी एकताका बाँकी विषयमा बैठकमा छलफल हुने बताउँछन्।

अर्का स्थायी कमिटी सदस्य देवन्द्र पौडेलले बैठकमा सरकारको कामको समीक्षा, एमसीसी, बजेट र कोभिड–१९ का बारेमा बैठकमा छलफल हुने बताएका छन्। बारम्बार सर्दै आएको नेकपा स्थायी कमिटी बैठक नबसेको ६ महिना पुगिसकेको छ।

प्रधानमन्री क केपी ओली एमसीसीलाई संसदबाट अनुमोदन गराउने पक्षमा छन् भने अर्का अध्यक्ष दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह पार्टीभित्र निर्णय नगरी यसलाई संसदमा प्रवेश हुन नदिने पक्षमा छन् ।

बैठकमा सरकारका कामकारवाही, एमसीसी, संगठनका विषय लगायतका विषयमा छलफलल हुने भएकोले केही दिनसम्म चल्ने सम्भावना छ। बैठक बुधबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्ने तय भएको छ।

पार्टी केन्द्रीय कार्यालय सचिव ईश्वरी रिजालका अनुसार बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्। बैठकमा स्थायी कमिटीका ४५ सदस्यसहित आमन्त्रित सदस्यका रुपमा अनुशासन, लेखा र निर्वाचन आयोग, सल्लाहकार परिषद् र ज्येष्ठ कम्युनिष्ट मञ्चका संयोजकको पनि उपस्थिति हुने छ। – नेपाल समय