मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेकपा स्थायी समिति बैठक १२ गतेसम्मका लागि स्थगित

नेकपा स्थायी समिति बैठक १२ गतेसम्मका लागि स्थगित


काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) स्थायी समितिको बैठक असार १२ गते बस्ने गरी स्थगित भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेकाे बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले धारणा राखेपछि बैठक शुक्रबारसम्मका लागि स्थगित भएकाे हाे।

बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, अध्यक्षद्वयले धारणा राख्‍ने काम भयो। अर्को बैठकमा सबै सदस्यहरुले आफ्ना धारणा राख्ने सहमतिपछि बैठक सकियो। अर्काे बैठक शुक्रबार ११ बजे बस्नेछ।’ बैठकले एजेन्डा तय गरेकाे छ। 

महासचिव विष्णु पौडेलले अध्यक्षद्वयले तयार पारेको एजेन्डा प्रस्तुत गरी बैठक सुरु गरेका थिए। स्थायी समिति बैठकमा कार्यसूचीमा सामान्य विमर्श भएपछि अध्यक्षद्वले आफ्नो धारणा राखेका थिए।

उनीहरुले कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका क्रममा सरकारले खेलिरहेको भूमिका, पार्टीको सांगठनिक अवस्था लगायतका विषयमा आफ्नो धारणा राखेकाे एक स्थायी समिति सदस्यले बताए।

बैठकमा विभिन्न सातवटा विषय छलफलका लागि पेस भएका थिए। जसमा कोरोना रोकथाम र उपचार, सीमा समस्या, अमेरिकी सहयोग एमसीसी, पार्टी एकता लगायत छन्। 

बैठकमा उपस्थित स्थायी समिति सदस्यहरुले नागरिकता विधेयक, पश्चिम रुकुममा भएको जातीय विभेदको घटना (चौरजहारी प्रकरण) लगायतमा पनि छलफल गर्नुपर्ने आवाज उठाएपछि अर्को बैठकका लागि ती एजेन्डा पनि थप भएका छन्।

यसअघि अध्यक्षद्वयबीच मंगलबार लामाे समयसम्म छलफल हुँदा पनि बैठकका एजेन्डा तय हुन सकेकाे थिएन। – नेपाल समय