मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बाजुराको सेवापछि हुम्ला लागे डाक्टर केसी

बाजुराको सेवापछि हुम्ला लागे डाक्टर केसी


बाजुरा: निःशुल्क स्वास्थ्य सेवा दिन बाजुराको कोल्टी पुगेका डा. गोविन्द केसीले आइसोलेसनमा रहेका बिरामीको उपचार गरेका छन्। उनले पाखुराको जोर्नी फुस्कीएर आइसोलोसनमा भर्ना भएका एक बिरामीको चेकजाँचका साथै उपचार गरेको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा. राजुराज जैशीले बताए। 

क्वारेन्टिनमा बसिरहेका ती पुरुष दाँया हातको पाखुराको जोर्नी फुस्कीएपछि कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा भर्ना भएका थिए। ती बिरामीको उपचार गरेर डा. केसी बुधवार नै हुम्लाको ताजाकोट गाँउपालिका लागेको डा. जैशीले बताए।  एक हप्ता त्यहाँ बसेर फिर्ताभएपछि पुनः कोल्टीमा केही दिन बस्ने डाक्टर केसीले जानकारी दिएका छन्। 

दुई दिनसम्म जिल्ला अस्पताल बाजुरामा सेवा दिएका उनले हुम्लाका दुर्गममा रहेका स्वास्थ्य संस्थामा बसेर केहिदिन सेवा दिने भएका छन्। डा. केसी मंगलबार मात्रै औषधिसहित बाजुराको कोल्टी र हुम्लाको मैलाका लागि हिँडेका थिए। दुई महिना डडेल्धुरा अस्पतालमा निःशुल्क सेवा गरेर डा केसी सुदूरपश्चिमका पहाडि जिल्लामा घुमिरहेका छन्। उनले उपचार मात्र हैन बिरामीलाई निःशुल्क औषधिसमेत  वितरण गर्ने गरेका छन्।

डडेल्धुराबाट हिँडेपछि डाक्टर केसीले बझाङ, दार्चुल्ला, बैतडी लगायतका जिल्ला पुगेर सेवा दिइसकेका छन्। बेलाबेलामा मेडीकल माफिया, नेपालको स्वास्थ्य क्षेत्रमा भएको दुराचार, अवैध तथा अनियमित व्यवस्थाको विरोध तथा मेडीकल कलेज खोल्न माग गर्दै आएका उनी १७औं पटक अनसन बस्न डडेल्धुरा पुगेका थिए।

गत कार्तिक १८ गते डडेल्धुरा पुगेर अनशन बसेका बेला उनले चिकित्सा शिक्षा ऐनमा शंसोधन, अरबौंको ठगी गर्ने मेडिकल कलेजका सञ्चालकहरुलाई कारवाही र सुदूरपश्चिमको डोटी, डडेल्धुरामा मेडिकल कलेजको माग राखेको थिए। तर कालापानी, लिपुलेख र लिम्पियाधुरा सीमा विवादका कारण उनको सत्याग्रह कार्तिक २६ गते ९औं दिनमा स्थागित भएको थियो।