वासिङ्टन : अमेरिकामा कोरोना भाइरसबाट झण्डै दुई करोड मानिस सङ्क्र’मित भएको हुनसक्ने अनुमान गरिएको छ। देशमा सङ्क्रमित भित्रिएदेखि अहिलेसम्म कुल सङ्क्रमितको संख्या दुई करोड पुगेको हुनसक्ने सरकारी स्वास्थ्य अधिकारीहरुले अनुमान गरेका हुन्। स्वास्थ्य अधिकारीहरूले अमेरिकामा कम्तीमा दुई करोड मानिसमा कोरोनाभाइरस सङ्क्रमित भइसकेको हुनसक्ने अनुमान गरेका छन्।
अमेरिकाको रोग नियन्त्रण केन्द्रले सङ्क्रमितको वास्तविक संख्या अहिले पुष्टि गरिएको भन्दा १० गुणा बढी हुनसक्ने पनि जनाएको छ। सङ्क्रमित र अस्पताल भर्ना हुनेहरूको संख्या बढेपछि टेक्सास राज्यले पूर्ण रूपमा खुला गर्ने आफ्नो योजनालाई स्थगित गरेकै बेला यस्तो तथ्य सार्वजनिक भएको हो।
अमेरिकामा अहिलेसम्म संसारकै सबैभन्दा धेरै २४ लाख जना सङ्क्रमित भएको तथ्यांक रहेको छ। त्यसैगरी हालसम्म एक लाख २२ हजार ३ सय ७० जनाको अमेरिकामा कोरोनाका कारण मृत्यु भएको छ। देशका दक्षिणी र पश्चिमी केही राज्यहरूमा पछिल्लो समय अत्यधिक धेरै मानिस सङ्क्रमित भएको विवरण सर्वाजनिक भएका छन्।
यस बारेमा अध्ययन अनुसन्धान गरिरहेका वाशिङ्गटन विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले आगामी अक्टोबर महिनासम्ममा १ लाख ८० हजारको मृत्यु हुने अनुमान गरेका छन्। उनीहरुले ९५ प्रतिशत अमेरिकीहरूले मास्क लगाएमा त्यो सख्या १ लाख ४६ हजारमा सिमित हुन सक्ने अनुमान पनि गरेका छन्।
रोग नियन्त्रण केन्द्रका निर्देशक डा रोबर्ट रेडफिल्डले अहिले जति सङ्क्रमितको तथ्यांक सार्वजनिक भएको छ, ती हरेकबाट अन्य दश जनाको दरले सङ्क्रमित भएको हुनसक्ने देखिएको बताए। अहिलेसम्म लक्षण देखिएका र चासो देखाएकाहरुलाई मात्रै कोरोना परिक्षण गर्ने गरिएकाले सङ्क्रमितको संख्या अहिले सार्वजनिक भएको भन्दा दश गुण हुनसक्ने अनुमान गरिएको उनको भनाई छ।
यसरी हेर्दा अमेरिकाका पाँचदेखि आठ प्रतिशतसम्म मानिसलाई कोरोनाभाइरसले असर गरिसकेको हुनसक्ने देखिएको छ। सङ्क्रमणको क्रम तिब्र गतिमै रहेकाले सामाजिक दुरी कायम राख्ने, मास्क, पञ्जा र सेनिटाइजर लगाउने, हात धुनेलगायतका आधारभूत स्वास्थ्य सतर्कताका कार्यहरु गर्न स्वास्थ्य अधिकारीहरुले आह्वान गरेका छन्। पछिल्लो समयमा हेलचक्रयाई पनि बढ्दै गएकाले मानवीय क्षति अझ धेरै हुनसक्ने भन्दै उनीहरुले चिन्ता पनि व्यक्त गरेका छन् ।रासस/एपी
प्रतिक्रिया