विनोद खत्री ‘मिलन’
गोरु प्यारो छ, हलो, जुवा, हल्लुँड अनि फाली प्यारो छ
बर्खा प्यारो छ, बेंसी, टार बारी खेतको आली प्यारो छ
डिही प्यारो छ, खेतालालाई भात पकाउने पाली प्यारो छ
बीउ प्यारो छ, हिलो खेल्दै फलाएको बाली प्यारो छ
किसान दाइ!!! यो मैले कोरेको निम्रो चित्र, मैले लेखेको तिम्रो जीवनी
मुसुक्क मुस्कुराउँदै खेत-बारी दौडिरहन्छौ झरी, घाम दिन रात नभनी
१० वर्षको हुँदा हलो समातेका तिमीलाई यी सब प्यारी नहुन् पनि किन
न भोक ना तिर्खा न दुखाइ न थकान नुनिलो पसिनासँग साट्यौ जवानी
तर……..
मल, बीउको अभाव भो भन्दै कार्यालायअगाडि लाइनमा नभेटेको पनि हैन तिमिलाई । बाढी पहिरोको डर छ सबै सखाप हुने भो भनि सुर्ताएको नदेखेको पनि हैन तिमीलाई ।तिमीलाई पनि त ढुक्क को सास फेरेर सुखको सपना देख्न मन हुँदो हो । कैयौँपटक सयौँले किताबमा ब्यानरमा पर्चामा नारामा नलेखेको पानि हैन तिमीलाई
मजदुर लडे किसान लडे, शासन फेरियो
गाउँ घर चुनाव ताका,भाषण फेरियो
नीति आए नियम आए खै त परिवर्तन ?
नेता आए मन्त्री आए,आश्वासन फेरियो
तर अँह फरिएन…..
तिम्रो प्यारो सुर्ती पनि राख्न नमिल्ने गरी च्यातिएका इस्टकोट न त टोपीको प्वाँल। वर्षौंअघि बिहेमा सिलाएका दौरा च्यात्तिएर बनेका सर्ट न त त्यो पुरानो सुरुवाल । भाउजूका धोतीले पनि अनगिन्ति बर्खा कटायो होला तर भ्वाङ टाल्ने टालो मात्र फेरियो माटोसँग रमाउने तिमीलाई न त नेता न त मन्त्री न त प्रश्न न त सवाल
तिमीलाई त बस् मलिलो माटो भिजाउँदै, मानो रोपरे मुरी फलाउनु छ
सहर बस्ने छोरोको सपना सजाउँदै, ढिँडो-गुन्द्रुक निलेर गुजारा चलाउनु छ । सलाम छ तिम्रो पौरखलाई, न त लोभ न त लालच, न त संसार जित्ने अहंकार मात्र भनिरहन्छौ “न त दोष, न त खोट मात्र स्वाभिमानका साथ यो शरीर जलाउनु छ”
प्रतिक्रिया