नेपालमा पीसीआर परीक्षण गरिएका मध्ये ६.०२ प्रतिशतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको पाइएको छ। बुधबार साँझसम्मको तथ्यांकअनुसार २ लाख ३३ हजार २२७ जनाको नमुना परीक्षण गर्दा १४ हजार ४६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार संक्रमण मुक्त हुनेको दर भने २६ प्रतिशत छ । बुधबारसम्ममा ४ हजार ६५६ जना कोरोनामुक्त भएका छन् ।
कुन प्रदेशमा कति संक्रमित ?
सबैभन्दा धेरै कोरोना संक्रमित प्रदेश २ मा छन्। प्रदेश २ मा हालसम्म ३ हजार ८५६ जना संक्रमित भएका छन् भने १ हजार ३९३ जना संक्रमणमुक्त भएका छन्। बुधबार प्रदेश २ मा २ हजार ४५९ सक्रिय केस छन् ।
त्यस्तै प्रदेश १ मा हालसम्म ६२३ जना संक्रमित भएकोमा ४०० जना संक्रमणमुक्त भएका छन्। उक्त प्रदेशमा २२३ सक्रिय केस छन् । प्रदेश १ मा अहिलेसम्म कोरोना संक्रमित कसैको पनि मृत्यु भएको छैन ।
बागमती प्रदेशमा ४५८ जनामा संक्रमण देखिएकोमा २५६ जना संक्रमणमुक्त हुन बाँकी छ। १९७ जना संक्रमणमुक्त भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।
गण्डकी प्रदेशमा ९२५ जना सक्रिय संक्रमित छन् । १३१ जना संक्रमणमुक्त भएका छन् भने २ जनाको मृत्यु भएको छ। गण्डकीमा १ हजार ५८ जना संक्रमित भेटिएका छन्।
प्रदेश २ पछि सबैभन्दा धेरै संक्रमित प्रदेश ५ मा भेटिएका छन् । ३ हजार ८४३ जना संक्रमित भेटिएकोमा १ हजाार ९०७ जना संक्रमणमुक्त भएका छन् । उक्त प्रदेशमा २ हजार ९२७ सक्रिय संक्रमित छन्। सबैभन्दा धेरै ९ जना संक्रमितको मृत्यु भएको छ ।
कर्णाली प्रदेशमा १ हजार ५०८ संक्रमित भेटिएकोमा बुधबार साँझसम्ममा ९९१ सक्रिय केस छन् भने ५५३ जना कोरोनामुक्त भएका छन्। कर्णालीमा ४ जनाको मृत्यु भएको छ ।
सुदूरपश्चिम प्रदेशमा हालसम्म २ हजार ७०० संक्रमित भेटिएकोमा ७० जनामात्रै कोरोनामुक्त भएका छन् । यस उक्त प्रदेशमा ६ जनाको मृत्यु भएको छ भने २ हजार ६१९ सक्रिय संक्रमित छन्।
३ जिल्ला कोरोनामुक्त
देशका ७७ वटै जिल्लामा कोरोना संक्रमित भेटिएकोमा ३ जिल्लामा भने आजको दिनमा एक जना पनि सक्रिय संक्रमित छैनन्। भोजपुर, सोलुखुम्बु र दोलखामा अहिले कुनै पनि सक्रिय केस नभएकाले यी जिल्ला कोरोनामुक्त भएका छन् ।
प्रतिक्रिया