मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

३० लाख हङकङ नागरिकलाई नागरिकता दिने बेलायतको प्रस्ताव

३० लाख हङकङ नागरिकलाई नागरिकता दिने बेलायतको प्रस्ताव


लन्डन । हङकङमा चीनले नयाँ राष्ट्रिय सुरक्षा कानुन लागु गरेसँगै हङकङले त्यसको चर्को विरोध गरेको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले हङकङका ३० लाख बासिन्दालाई ब्रिटेनमा बसोबास गर्न र अन्तत: नागरिकताका निम्ति आवदेनको अधिकार लिन पाउने प्रस्ताव गरेका छन् ।

बेलायतले आफ्नो पुरानो उपनिवेशका बासिन्दालाईको स्वतन्त्रता उल्लंघन भएको उल्लेख गर्दै त्यसबाट प्रभावित हुने बासिन्दालाई त्यहाँबाट निस्किने बाटो खुला गरिदिने बताएका हुन् ।

करिब ३ लाख ५० हजार बेलायतको राहदानी भएका र अन्य २६ लाख मानिस पाँच वर्षका निम्ति बेलायत जाने बाटो खुला गरिएको छ । त्यसको एक वर्षपछि नागरिकताका लागि आवेदन दिन पाउने छन् । हङकङका बेलायतको राहदानी भएकाहरूलाई सन् १९८० को दशकमा विशेष हैसियत प्रदान गरिएको थियो । 

तर, अहिले उनीहरूको त्यो अधिकारमा प्रतिबन्ध लगाइएको छ र प्रवेशाज्ञा नलिएरै छ महिनाका निम्ति बेलायत प्रवेश गर्न पाउने सुविधामा सीमित पारिएको छ ।

सरकारको नयाँ योजना अनुसार बेलायती राहदानीबाहक र उनीहरुमा निर्भर रहेका परिवारका सदस्यलाई पाँच वर्षका निम्ति बेलायतमा बस्‍न, काम गर्न र पढ्न दिइने भएको  छ । त्यसका निम्ति अहिले आवेदन दिनु पर्नेछ र त्यसको एक वर्षपछि नागरिकताका निम्ति आवेदन दिन योग्य हुनेछन् ।

प्रधानमन्त्री जोनसनले नयाँ कानुनले वैधानिक सम्झौताको रूपमा स्थापित सन् १९८५ को संयुक्त घोषणाको ‘स्पष्ट र गम्भीर उल्लंघन’ गरेको बताए । जसमा बेलायते हङकङ सन् १९९७ मा चीनलाई हस्तान्तरण गरेपछि ५० वर्षसम्मका निम्ति केही निश्चित अधिकार सुनिश्चित गरिएको थियो ।

हङकङका नागरिकले चीनले लागु गरेको नयाँ कानुन अवज्ञा गरेमा आजीवन जेल सजाय समेत भोग्नुपर्ने प्रवधान नयाँ सुरक्षा कानुनमा गरिएको छ । उक्त अधिकारको प्रयोग गर्दै बुधबार धेरै मानिसहरुलाई पक्राउ गरिएको छ । – बिबिसी