काठमाडौं । ३० को दशकमा नेपाली साहित्यको सर्वाधिक चर्चामा थिए कवि हरिभक्त कटुवाल (१९९२ असार १८–२०३७ भदौ २५) । चोटिला कविता र मर्मस्पर्शी गीत लेख्ने कटुवाल २०२६ सालमा जन्मभूमि असम छाडेर काठमाडौंमा बस्न थालेका थिए ।
अधिकांश साहित्यिक र परिचितले कटुवाललाई आफू र परिवारको चासो नगर्ने मानिसको रुपमा चित्रित गर्ने गरेका छन् । उनले २०२१ चैत १३ गते आफ्ना सहोदर भाइलाई लेखेको चिठीले उनको निजी जीवनको रहस्य खोल्छ । पत्रको व्यहोराले कटुवालमा परिवारप्रति गहिरो लगाव रहेको देखाउँछ । उनी घरका प्रत्येक सदस्यको ख्याल राख्छन्, भाइ उपेन क्षेत्रीलाई पढ्न बेलायत, अमेरिका जानुपर्छ भनेर हौसला दिन्छन् ।
यो पत्र हरिभक्त कटुवालको जीवनमाथि वृत्तचित्र बनाएका पुरु लम्सालले कटुवालकी जेठी छोरी कविता क्षेत्रीबाट लिएका हुन् । तीन पेजको यो चिठी लेख्दा हरिभक्त मात्र २८ वर्षका थिए ।
असमको पेङ्ग्री गाउँका शिक्षक कटुवाल एक साताको साहित्यिक भ्रमणमा कलकत्ता पुग्छन् । त्यहाँको ‘इम्पेरियल होटेल’बाट पेङ्ग्रीमा रहेका परिवारलाई चिठी पठाउँछन् । त्यतिबेला परिवारमा उनका बुबा वीरबहादुर, आमा, भाइहरू– उपेन र मनबहादुर, श्रीमती जयकुमारी, छोरा दानु, छोरी कल्पना र नजिकका दिदीबहिनी रहेको चिठीबाट प्रष्ट हुन्छ ।
असमको डिब्रुगढ र धेमजी जिल्लाको बीचमा पर्ने पेङ्ग्री गाउँमा कटवालको घर थियो । बाढीले विस्थापित कटुवाल परिवार सरकारले दिएको त्यो जग्गामा बस्थे । चिठीमा कटुवालले भाइलाई भनेका छन्– ‘एउटै आमाका कोखबाट जन्मेर मात्र कोही आफ्नो हुँदैन । बनाउन जाने संसारै आफ्नो– बुझिस् ! नभए आफ्ना पनि बिराना ।’
वृत्तचित्र बनाउने क्रममा लम्साल हरिभक्त कटुवाल जन्मेको ख्वाङ्ग गेरगरी र कटुवाल परिवार बसेको पेङ्ग्री पुगेका थिए । त्यसबेला उनले हरिभक्तका तीन छोरी र भाइ मनबहादुर क्षेत्रीलाई भेटे । ‘हरिभक्त कटवाल बितेको आज ठिक ४० वर्ष भयो,’ उनी भन्छन्, ‘परिवारजनले चिठी, डायरी र पत्रपत्रिकाका कटिङ (रचना) मा उनको सम्झना सुरक्षित राखेको छ ।’
२०३७ जेठसम्म हरिभक्त काठमाडौंमै थिए । आफ्ना पिताको देहान्त भएको ४५ दिनको कार्य गर्न उनी जेठ अन्तिममा आसामतिर लागेको साहित्यिक मासिक अभिव्यक्तिका सम्पादक एवं हरिभक्तका मित्र नगेन्द्रराज शर्मा बताउँछन् ।
त्यहाँ पुग्नेबित्तिकै क्षयरोगले च्यापेपछि उनी डिब्रुगढस्थित मेडिकल कलेजमा भर्ना भए । उपचारकै क्रममा भदौ २५ गते उनको निधन भयो । २०३७ जेठमा उनी परिवारकै खुसीका लागि काठमाडौंबाट असम फर्केको शर्माको भनाइ छ । उनका अनुसारबाबुको मृत्यु कर्ममा सहभागी नभए आमा रिसाउने भएकाले उनी फर्केका थिए ।
साहित्यकार शैलेन्द्र साकार कवि कटुवालले काठमाडौं सम्झन सिउँडी र अन्य केही फूलका बिरुवा लगेको बताउँछन् । उनको मृत्युपछि असममा ‘हरिभक्त स्मृतिग्रन्थ’ प्रकाशित गर्न महत्वपुर्ण भूमिका खेलेका अर्का साहित्यकार अविनाश श्रेष्ठको बुझाइमा, मनमौजी बानीले सुरुमा कटुवाललाई परिवारबाट टाढा बनाएको थियो ।
असम छँदा उनले हरिभक्तलाई पटक–पटक भेटेका थिए । ‘विलक्षण साहित्यकार हरिभक्त दाइले जीवनका पछिल्ला दिनहरूमा आफूलाई सम्हाल्नुभएन,’ श्रेष्ठ भन्छन्, ‘उहाँको स्वास्थ्य र व्यवहार दिनानुदिन बिग्रिँदै गयो ।’ भाइलाई पठाएको चिठीमा कटुवालले आफ्नो नाम भएको ठाउँहरुमा हस्ताक्षर गरेका छन् । उनको भाषामा काठमाडौंमा चलेकोभन्दा भिन्न अंग्रेजी मिश्रित बान्की छ । – अनलाईनखबरबाट साभार
सेन्ट्रल इम्पेरियल होटल
कलकत्ता
२६.३.६५
प्रिय भाइ ‘उपेन’
स्नेहाशीष ।
आमालाई र बालाई दण्डवत् !जया, बासु, कृष्णा, सरस्वती सबैमा स्नेह र नानीहरूमा आशिष ।सकुशल आज बिहान कलकत्ता आइपुग्यौं । भोलि सभा छ । नेपालका भूतपूर्व राष्ट्रदूत पनि आएका छन् । भेटघाट कुराकानी भयो। कलकत्ता ठूलाठूला सहरमध्येको एउटा हो । म त दंग परेँ । यता ट्राम उता बास । बिजुलीले चल्ने रेल । लाखौं मोटर । मान्छेको घुइँचो उस्तै । हिँड्न नजाने रोटी पारिहाल्छ । आज दिउँसो यहाँको सबैभन्दा नामी सिनेमा हलमा अङ्ग्रेजी पिक्चर हेर्यौं । पिक्चर त के र हलै राम्रो । मेट्रो । म यता आउँदा बालाई सञ्चो थिएन भन्ने सुनेको थिएँ– चिन्ता लागिरहेछ । मनबहादुरलाई पनि खबर पठाएको थिएँ । आशे होला । म १ ता. सम्म डिगबोई पुग्छु । हेर भाइ कविता लेखेको थिएँ र आज कलकत्ता आएँ । पह्रार दिल्ली र नेपाल गएँ । मान्छेले साधना गरे निश्चय सफल हुन्छ । यहाँका मान्छेहरू म आउनाले ज्यादै खुसी भएका छन् । अल इण्डिया कल्चरल एण्ड लिट्रेरी एसोसियसनको सेक्रेटरी हुनुपर्छ भनेर बल गर्दैछन् । बहुत ठूलो भार हो । विचार गर्दैछु । अप्रिल महिनामा फेरि मिटिङ हुन्छ कलकत्तामै । सायद आउनुपर्छ होला– त्यसबेला पनि । उपेन, ककाइदेउलाई पनि मेरो स्नेह सुनाइदिनू । सानो नानीलाई खुब सम्झन्छु । मसँग रत्तिसकेको थियो । यो ८/९ दिनमा बिर्सन्छ कि ? हाउडाको पुल हेर्यौं। डिगबोईमा रेक्साभन्दा यहाँ मोटर सस्तो छ । मोटरैमा मात्र कुदिँदै छ । ६०.०० पैसामा डेढ–दुई माइल लैजान्छ । भोलि दिउँसो बजार हेर्ने विचार छ । भूपेन हाजरिकासँग पनि भेट गर्ने इच्छा छ । हेरौँ । ठूली दिदी र सानी दिदी (उद्धवकी आमा) लाई पनि सम्झना भन्नू । ठूलो मन र भूपेनलाई पनि । यतिखेर स्टान्डर्ड ११ बज्न लाग्यो । गुरुभक्त र भीम निदाए । भाइ ठूलो भएर तँ अमेरिका र बेलायत जानुपर्छ– त्यस्तो उद्देश्य लिएर पढ् । मान्छेले आँटे सबै पुग्छ । ३० ता. तिर रत्ना दिदी आउँछिन् होला ! राम्रो यत्न लिनू ! बासु दिदी र रत्ना दिदी एकै दिदी हुन् । कृष्णा दिदी पनि । एउटै आमाका कोखबाट जन्मेर मात्र कोही आफ्नो हुँदैन । बनाउन जाने संसारै आफ्नो– बुझिस् ! नभए आफ्ना पनि बिराना ।
घरमा सबैलाई ईश्वरले मंगलसाथ राखून् ।
इति ।
दाज्यू !
श्री हरिभक्त कटुवाल
प्रतिक्रिया