मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकता बचाउन नेकपामा हस्ताक्षर सुरु

एकता बचाउन नेकपामा हस्ताक्षर सुरु

तत्काल केन्द्रीय कमिटी बैठक बोलाउन माग


फाइल तस्बिर 

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र विवाद चर्किएर विभाजनको खतरा निम्तिएपछि संकटमोचनका निम्ति केन्द्रीय सदस्यहरूले हस्ताक्षर अभियान सुरु गरेका छन् । शनिबार जुम मिटिङ मार्फत ५३ जना केन्द्रीय सदस्यहरूले हस्ताक्षर अभियान सुरु गरेको केन्द्रीय सदस्य ठाकुर गैरेले जानकारी दिए ।

सचिवालय, स्थायी कमिटीले सङ्कट टार्न नसकेको भन्दै केन्द्रीय कमिटी बोलाउन माग गरिएको उनले बताए । चार सय ५३ जनामध्ये सयजना सदस्यहरूले हस्ताक्षर गरिसकेको उनले बताए ।

नेकपाको अन्तरिम विधान अनुसार कुनै पनि कमिटीका ४० प्रतिशत सदस्यले लिखित माग गरेको १५ दिनभित्र केन्द्रीय कमिटी बैठक आह्वान गर्नुपर्नेछ । स्थायी कमिटीका २० जना सदस्यले वैशाख ८ को अध्यादेश प्रकरणपछि त्यसैगरी बैठक माग गरेका थिए ।

त्यसरी माग गरिएको स्थायी कमिटी बैठक वैशाख २५ र ३१ गते रोकिएर अहिले जारी छ । शुक्रबार स्थगित भएको बैठक सोमबार ११ बजे बस्दैछ । केन्द्रीय सदस्यकाहरूले स्थायी कमिटीले समाधान दिन नसक्ने छाँट देखिएकाले केन्द्रीय कमिटी बैठक माग गरिएको बताउँँछन् ।

“उपत्यका बाहिर रहेका सदस्यलाई स्क्यान गरेर हस्ताक्षर पठाउन भनेका छौं । यो एकताका निम्ति दबाब हो । पार्टीभित्र उत्पन्न सङ्कट, विभाजनको खतरा केन्द्रीय कमिटी बसेर वृहत्तर छलफलमार्फत हल गर्नुपर्छ,” गैरेले भने । – बारह्खरी