मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अध्यक्षद्वयबीच कुरा नमिल्दासम्म स्थायी कमिटी अनिश्चित

अध्यक्षद्वयबीच कुरा नमिल्दासम्म स्थायी कमिटी अनिश्चित


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहालबीच कुरा नमिल्दासम्म नेकपाको स्थायी कमिटी बैठक अनिश्चित देखिएको छ । असार १० गतेदेखि जारी स्थायी कमिटी बैठकमा छैटौंदिनदेखि अवरोध आएको छ । 

गत बिहिबारदेखि रोकिएको बैठक दुई अध्यक्षबीच सहमतिको वातावरण तयार नहुञ्जेल अझै अघि बढ्न नसक्ने प्रधानमन्त्री ओलीनिकट स्रोतले जानकारी दियो । बाहिर, दुई अध्यक्ष बसेर समाधान खोज्ने छलफल भइरहेकाले आजको स्थायी कमिटी बैठक रोकिने सम्भावना रहेको प्रधानमन्त्री निकट नेता बताउँछन् । “दुई अध्यक्षबीच बढ्दो तनावको अन्त्य नभइ स्थायी कमिटी सुचारु हुने देखिँदैन,” स्रोत भन्छन् । 

दुई अध्यक्षबीचको तनाब आइतबारको बैठकले केही मत्थर तुल्याएको छ । दोस्रो तहका नेताहरूले सहमतिको साझा विन्दु खोज्न सघाइरहेका छन् । आइतबार ओलीका तर्फबाट सचिवालय सदस्य ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, प्रचण्डका तर्फबाट ऊर्जामन्त्री वर्षमान पुन र स्थायी कमिटी सदस्य जनार्दन शर्मा छलफलमा सहभागी थिए । उनीहरूले नै सहमतिको साझा विन्दु तय गर्न सहजीकरण गरिरहेका छन् । उनीहरूबीच सामान्य छलफल भए पनि मूर्त प्रस्ताव भने तयार नभएको स्रोतको दाबी छ । 

“नेताहरूकाबीचमा सामान्य कुराकानी भएको छ । त्यस्तो ठोस प्रस्ताव तयार भएको छैन । आज पनि संवादलाई निरन्तरता दिने र सहमति खोज्ने प्रयास जारी रहेनेछ,” स्रोतले भन्यो । यसैबीच ओली निकट नेताहरूले दुई अध्यक्षबीच सहमतिको सूत्र पत्ता नलाग्दासम्म स्थायी कमिटी रोक्न दबाब बढाएका छन् । केन्द्रीय सदस्य कृष्णगोपाल श्रेष्ठले पनि नेकपाको हालको विवाद समाधान गर्ने विधि तय नभएसम्म स्थायी कमिटीको बैठक स्थगित गर्न सुझाव दिएका छन् । “नेकपाको हालको विवाद समाधान गर्ने सूध पत्ता नलागेसम्म स्थायी कमिटीको बैठक स्थगित गरे हुन्छ । हालसम्म सूत्र पत्ता नलागेको हुनाले आज बस्ने भनेको बैठक अर्काे सूचना नआएसम्मका लागि स्थगित गरिदिए हुन्छ,” उनी भन्छन् ।

तर, पार्टीका वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपालसहितका नेताले ओली सहमतिमा नआए स्थायी कमिटी बैठक बसेर निर्णय लिनुपर्ने बताउँदै आएका छन् । खुमलटारमा नियमितजस्तो बस्दै आएका उनीहरूले स्थायी कमिटी बैठकभन्दा बाहिर समाधान ननिस्कने भन्दै ओलीले बैठकमै आएर आफ्ना कुरा राख्नुपर्ने तर्क गर्दै आएका छन् । “हामीबीच स्थायी कमिटी बैठक रोक्न नहुने कुराकानी हुँदै आएको छ । प्रधानमन्त्री आउँदैनन् भने बैठक बसेर एजेन्डामा छलफल गर्नुपर्छ,” खनालको भनाइ छ । – बारह्खरी