मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जापानीहरु जस्तै खान सिके हामी स्वस्थ रहन सक्छौ ?

जापानीहरु जस्तै खान सिके हामी स्वस्थ रहन सक्छौ ?


बीबीसी । जापानीहरुको विश्वकै सबैभन्दा उच्च औसत आयु रहेको छ । जसको प्रमुख कारण उनीहरुले खाने खानाको प्रकार रहेको मानिन्छ । जापानमा वास्तवमै १०० पार गरेका सबैभन्दा धेरै नागरिकहरु छन्, जसको नजिक दुनियाँको अर्को कुनै देश आउँदैन । आखिर जापानमा के छ जुन अरु देशसँग छैन ? उनीहरुको यो विशेषताबारे पूरै विश्वले चासो जनाउँदै आएको छ । के हामीले उनीहरु जस्तै खान सिक्नुपर्छ ?

यस्तै चर्चाले नै पछिल्लो समय मेडिटेरियन डायटतर्फ सबैको ध्यान केन्द्रित गराएको छ । यो डायट मेडिटेरियन क्षेत्र बाहिर पनि उत्तिकै लोकप्रिय बनेको छ जसमा विशेष रुपमा ‘एनिमल फ्याट’ कम हुने गर्दछ । एक शताब्दी उमेर पार गरेका अधिकांश मानिस बस्ने इटालियन क्षेत्रमा पनि यही डायटको उपभोग बढी हुने खाद्य अनुसन्धानकर्ता वाल्टर विलेटले १९९० को दशकमा बताएका थिए । उनैले आफ्नो अध्ययनमा जापानको लामो आयु युक्त जनसङ्ख्याबारे पनि उल्लेख गरेका छन् जसमा उनीहरुको मुटु सम्बन्धी रोगका कारण मृत्यु हुने सङ्ख्या निकै थोरै रहेको पाइएको हो । त्यही बेलादेखि लामो जीवन सँग सम्बन्धित खानाबारे अनगिन्ती रिसर्चहरु भएका छन् । उसो भए कस्तो किसिमका खाना खाँदा हामीले पनि त्यस्तै फाइदा पाउन सक्छौँ ? 

एपिडेमोलोजीका अध्ययनकर्ता शु जाङका अनुसार जापानी डायटको परिभाषा धेरै विस्तृत छ । यस्तोमा जापानी डायट र स्वास्थ्य सम्बन्धी ३९ अध्ययनहरुको विश्लेषणपछि मुख्यगरी समुद्री आहार, सागसब्जी, सोयाबिन र सोयासस, भात अनि ‘मिसो सुप’ लगायतका खानेकुरालाई महत्वका साथ हेरिएको पाइएको हो । 

यी खानेकुरा भएको डायट नियमित सेवन, वास्तवमै मुटुको समस्याबाट हुने मृत्यु दर कम गराउनसँग सम्बन्धित रहेको जाङ बताउँछन् । आश्चर्यजनक यसले समस्त रुपमै मृत्यु दर कम गराउन सक्ने अनुसन्धानमा देखिएको छ । सुरुआतमा उनी र उनका सहकर्मीहरुले राष्ट्रिय सर्वेक्षणको डाटा प्रयोग गरि १९९० देखिको जापानी डायट प्रतिनिधित्व गर्ने खानेकुराहरु र त्यससँगै समान अमेरिकामा त्यो समयमा खाइने खानेकुराको सूचि तयार पारेका हुन् । 

यसरी तोहोकु युनिभर्सिटीका असोसिएट प्रोफेसर सुयोसी सुडुकीले जापानी डायटको कुन प्रकारले लामो आयु दिलाउन योगदान पुर्याउन सक्छ भन्नेबारे पत्ता लगाउन ती दुवै देशका खानेकुराहरु सुख्खा बनाइ तीन हप्तासम्म मुसाहरुलाई खुवाइएको थियो जसलाई पछि स्वास्थ्य अधिकारीहरुले ध्यानपूर्वक अध्ययन गरेका हुन् । यसमा जापानी डायट सेवन गर्ने मुसाहरुको पेटमा एकदम कम बोसो रहेको पाइएको हो भने तुलनात्मक रुपमा तिनको रगतमा पनि फ्याटको स्तर थोरै थियो जबकी अमेरिकी र जापानी दुवै डायटमा उति नै मात्रामा फ्याट, प्रोटिन र कार्बोहाइड्रेट थियो । यसको अर्थ पोषण तत्वका श्रोतमा माछा विरुद्ध मासु, गहुँ विरुद्ध भातले फरक नतिजा ल्याउने स्पष्ट भएको हो । 

यसपछि वैज्ञानिकहरुले अझ बढी गहिराइपूर्वक अध्ययन गर्न पछिल्लो ५० वर्षदेखि जापानमा उपभोग हुँदै आएका डायटमाथि रिसर्च गरे जसले सबै जापानी डायट समान रुपमा पौष्टिक नहुने गरेको पनि पत्ता लाग्यो । विशेषगरी समुद्री खाना जस्तै ‘सिविड’ (समुद्री साग), दाल, गेडागुडी लगायत दानाहरु अनि फलफुल र परम्परागत रुपमा जमाएर राखिएका अचार र मसालाहरु लगायत समावेश गरिएको खाना सेवन गर्न सुझाव दिइएको हो जसले अधिक चिनीलाई कटौति गर्छ । त्यसैले यिनै खानेकुराले जापानीहरुलाई वृद्ध अवस्थामा पनि सक्रिय र स्वस्थ रहन मद्दत गर्ने गरेको उनीहरुको निष्कर्ष छ । 

मुसामा मात्र नभएर मान्छेमा पनि यो पुष्टि भइसकेको छ । सुडुकी र उनका सहकर्मीले बढी तौल भएका मानिसहरुमा २८ दिन परीक्षण गर्दा उनीहरुको डायट बदल्ने बित्तिकै तिनको कोलेस्ट्रोलमा सुधार आएको थियो । यसरी जापानी डायटमा विविध स्वादका थोरैथोरै परिकार हुन्छन् जसमा प्राय खानेकुरालाई फ्राइ गर्नेभन्दा पनि उसिन्ने र बफ्याउने गरिन्छ र स्वादका लागि अधिक नुन र चिनी नभएर अरु नै थोरैथोरै मसालाको प्रयोग गरिन्छ । यसरी जापानी डायट आफैँमा स्वस्थकर हुनुका साथै यसलाई पकाउने विधिले पनि यसको फाइदा बढाउने गरेको पाइएको हो । जहाँ तरकारी र सागसब्जीमा बढी जोड दिइएको हुन्छ ।