सुर्खेत– बाढीपहिरोका कारण जाजरकोटका झण्डै दुई सय परिवारले घर छोडेका छन् । शुक्रबार बारेकोट गाउँपालिका वडा नं. ४ को सार्कीटोलमा पहिरो गएपछि आसपासका परिवारले घर छोडेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ ।
डीएसपी किशोर श्रेष्ठका अनुसार वडा नं. ४ का तोलखान, मैना, जिरी, भैलोखानका स्थानीय घर छोडेर जंगलमा पाल टाँगेर बसेका छन् । वडा नं. ४ का रावलगीरी, ठाकुरगिरी र पातलगिरीका स्थानीय मात्रै घरमा बसेका छन् ।
बिहीबार राति आएको पहिरोले सार्कीटोलमा १२ जनासहित दुईवटा घर बगाएको थियो । पहिरोमा परेकामध्ये शुक्रबार साँझसम्म सात जनाको शव निकालिएको थियो । जसमध्ये गोपाल सार्की, अर्जुन सार्की, तिर्खा सार्की र कुशे गाउँपालिका–९ चौराटाका डिल्ली सार्की, वीरेन्द्र सार्कीको मात्रै पहिचान खुलेको छ ।
बाँकी दुई जनाको क्षतविक्षत भएका कारण शव पहिचान हुन सकेको छैन । त्यस्तै सोही घटनामा पुष्पा सार्की, लक्ष्मी सार्की, कलु सार्की, छोरी कमला सार्की, सुभाष सार्की, गौरी सार्की र कविता सार्की बेपत्ता छन् ।
वडा नं. ४ बारेकोट गाउँपालिकाको सबैभन्दा ठूलो वडा हो । जाजरकोट सदरमुकाम खलंगादेखि घटनास्थल पुग्न झण्डै दुई दिन पैदल हिँड्नुपर्छ । बिहीबार पहिरो गएको स्थान जुम्ला र डोल्पाको सिमानामा पर्छ ।
घटनापछि उद्धारका लागि रामीडाँडा इलाका प्रहरी कार्यालय, लिम्सा प्रहरी चौक, सिलिङ्गी प्रहरी चौकी र सेपुखोला प्रहरीचौकीबाट प्रहरी खटिएको थियो । दल्ली इलाका प्रहरी कार्यालय र जिल्लाबाट खटिएको नेपाली सेना टोली २० घण्टासम्म घटनास्थल पुग्न सकेको थिएन ।
यस्तै बारेकोट–६ धुमा आएको बाढीमा परी २० वर्षीय शान्तबहादुर चलाउने र १० वर्षीय प्रचण्ड चलाउने पनि बेपत्ता भएका छन् । सोही घटनामा घाइते रामचन्द्र चलाउने र विज्ञान बोहरालाई स्थानीयले उद्धार गरेका थिए । शुक्रबार जाजरकोटमा दिनभरी पानी परेका कारण घाइतेको उद्धार हुन सकेको थिएन । – नेपाल समय
प्रतिक्रिया