काठमाडौं- मनसुन सक्रिय भएसँगै शुक्रबारदेखि सुरु भएको भारी वर्षाको क्रम अझै तीन दिन जारी रहने भएको छ । आगामी मंगलबारसम्म देशका विभिन्न भागको मौसम बद्लि भइ भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज (आइतबार) देशका धेरैजसो स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना र प्रदेश १, प्रदेश २, बाग्मति प्रदेशका थोरै स्थानहरुमा साथै गण्डकी प्रदेश, प्रदेश ५ का एक/दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ।
सोमाबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै जसो स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ तथा प्रदेश २ थोरै स्थानहरुमा र बागमती प्रदेश तथा गण्डकी प्रदेशका एक/दुई स्थानहरुमा भारी वर्षा हुने महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार मंगलबार देशका धेरै जसो स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने छ भने प्रदेश १ र प्रदेश २ थोरै स्थानहरुमा तथा बागमती प्रदेश, गण्डकी प्रदेश तथा प्रदेश ५ का एक/दुई स्थानहरुमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।
भारी वर्षासँगै विभिन्न तराईमा बाढी र पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च भएकाले सतर्क रहन महाशाखाले अपिल गरेको छ । बाढी पहिरोका कारण सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढलको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले भनेको छ ।
यी स्थानमा बाढीको जोखिम
भारी वर्षासँगै आज प्रदेश नम्बर १, २ र ५ का विभिन्न स्थानमा रहेका खोलाहरुमा बाढी आउने भएकाले सतर्क रहन बाढी पूर्वानुमा शाखाले अपिल गरेको छ । शाखाका अनुसार आज इलाम, झापा, मोरङ, सुनसरी, उदयपुर, चितवन, मकवानपुर र प्रदेश २ का सबै जिल्लामा भारी वर्षा हुनुका साथै उक्त क्षेत्रका नदी तथा खहरे खोलामा बाढी आउने छ ।
विरिङ, निन्दा, कन्काई, मावा, रतुवा, लोहन्द्रा, चिसाङखोला, बुढीखोला, सुनसरी खोला, माउली, त्रियुगा, खाडो, बलन, खुट्टी, चुरियाखोला, बकैया नदिमा को तटिय क्षेत्र खतराको तहसम्म बाढी आउने बाढी पूर्वानुमान शाखाले जनाएको छ । – नेपाल समय
प्रतिक्रिया