मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

फेरी एकताको प्रयासमा साझा पार्टी र विवेकशील नेपाली दल

फेरी एकताको प्रयासमा साझा पार्टी र विवेकशील नेपाली दल


पोखरा । फुटको डेढ वर्षपछि साझा पार्टी र विवेकशील नेपाली दल फेरि एकता गर्ने प्रयासमा जुटेका छन् । साझा पार्टीको आइतबार बसेको केन्द्रीय कमिटीको बैठकले पार्टी एकताका लागि सम्वाद समिति गठन गरेको छ ।

बैठकमा पार्टीमा एकताको विषयमा फरक मत राख्दै आएका प्रवक्ता सूर्यराज आचार्य र केन्द्रीय सदस्य मुमाराम खनाल भने बैठकमा सहभागी भएनन् । नेताहरुका अनुसार पार्टी एकता वार्ताका लागि विवेकशील नेपाली दलले पनि कार्यदल गठन गरिसकेको छ ।

साझा र विवेकशीलबीच ११ साउन २०७४ मा पनि पार्टी एकता भएको थियो । २०७४ को चुनावमा एक्ला एक्लै प्रतिस्पर्धामा उत्रिएका दुई दलले प्रदेश ३ को प्रदेशसभामा (हालको बागमती प्रदेशसभा) मा समानुपातिकतर्फ तीन सिट पाउन सफल भएका थिए ।

प्रतिनिधिसभा निर्वाचनमा पार्टीको नेतृत्व तहकै व्यक्तिहरु नेतृत्व नै पराजित भएका थिए । २७ पुस २०७५ मा यो पार्टी फुट्यो । उज्ज्वल थापा नेतृत्वको समूहले फेरि विवेकशील नेपाली दल ब्यूँतायो भने रवीन्द्र मिश्र समूह साझा पार्टीमा नै रहे । १४ मंसिर २०७६ मा कास्की २ मा भएको उपचुनावमा दुबै दलले नराम्रो हार व्यहोरे । अन्यत्र पनि अपेक्षाअनुसार मत नआएपछि फेरि एकताको बहस सुरु भयो ।

साझा पार्टीको फागुन १५ देखि १७ गतेसम्म लुम्बिनी भेलाले मन र विचार मिल्ने पार्टीसँग एकता गर्ने निर्णय गरेको थियो । त्यही निर्णयलाई टेकेर साझाले विवेकशील नेपाली दलसँग पार्टी एकताका लागि अनौपचारिक सम्वाद थालेको थियो ।

त्यस अनुसार विवेकशीलले राजनीतिक सम्वाद समितिलाई वार्ताको जिम्मा दिएको छ । महासचिव निर्देश सिलवालको संयोजक रहेको समितिमा रञ्जु दर्शना र प्रदेशसभा सदस्य रमेश पौडेल सदस्य छन् । समितिमा केशव दाहाल र समिक्षा बास्काेटाको नाम पक्का भएको छ भने तेस्रो सदस्य टुंगो लागेको छैन । पार्टी संयोजक रवीन्द्र मिश्रले किशोर थापा र किरणकृष्ण श्रेष्ठ मध्ये एक तोक्नेछन् ।

आचार्य र खनाललाई धन्यवाद

आइतबार बसेको साझा पार्टीको बैठकले डा. आचार्य र खनाललाई धन्यवाद दिने निर्णय गरेको छ । दुबै पार्टीमा असन्तुष्ट थिए र शनिबार बसेको सचिवालय तथा आइतबार बसेको केन्द्रीय समितिकोे बैठकमा सहभागी भएनन् ।

स्रोतका अनुसार लुम्बिनी भेलामा फरक मत राखेका खनाल र आचार्यले पार्टीको संरचना भत्काएर संयोजक मात्र राख्ने प्रस्ताव गरेका थिए । तर पार्टी नेतृत्व अहिलेको संरचना कायम राख्दै एकता गर्दै जाने पक्षमा उभिएपछि उनीहरु असन्तुष्ट बनेका हुन् । दुबै पार्टी संरचनामा नबस्ने सम्भावना छ ।