मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जति दौडिए पनि मुक्ति मिल्दैन पीडाबाट

जति दौडिए पनि मुक्ति मिल्दैन पीडाबाट


  • हुकुम धड्कन

गजल–१
तिमीलाई मेरो नाम हकवालामा राख्न मन लाग्दैन
नाइँ सखी तिमी मान्छे हौ मलाई मान्छेको भर लाग्दैन

पिठ्युमा बोकेर यात्राको सिद्धान्त नसिकाऊ आमा
बरु हिँड्न देऊ हिँड्न जान्यो भने ठक्कर लाग्दैन

गान्धीलाई गोली लाग्छ, विष लाग्छ सुकरातलाई
छोरा तँ जल्लादलाई किन क्यान्सर लाग्दैन ?

ए डुंगा जाँदा–जाँदै मझधारमा तिमी पल्टियौ भने ?
धत् डर लाग्ने यात्रीलाई हो, डुंगालाई डर लाग्दैन ।

गजल–२
जाने कहाँसम्म हो आएथ्यौ कहाँबाट
जति दौडिए पनि मुक्ति मिल्दैन पीडाबाट

रगत पठाइदिउँला यताबाट अवोधहरूको
बदलामा तैंले क्यै पठाउनु पर्दैन उताबाट

बिस्तारै मेरो छायामा जोडिन्छ नयाँ आकृति
बिस्तारै उसको चेहरा ओझेल हुन्छ आँखाबाट

काँडाबाट पलाएको मन कुल्चियौ तिमीले
र मन पटक–पटक पलाउँदैन काँडाबाट ।