- राजेन्द्र बहादुर श्रेष्ठ
राज्यबाट तलब थाप्ने तमाम राजनैतिक कर्मी र सेवक कर्मचारीहरु तथा निजी क्षेत्रका देशभक्तिले ओतप्रोत नागरिक विशेषतया विभिन्न पेशाका कुशल ब्यवस्थापक, संचालक, उद्यमि, ब्यापारी, कृषक, शिक्षक आदिले आत्मनिर्भर हुने दृढ प्रतिज्ञारा साथ कार्य गरेमा मोटामोटी १० बर्ष भित्र वा सो अघि नै गांस,बास,कपासको क्षेत्रमा हाम्रो मुलुक गर्व गर्न लायक अवस्थामा पुग्न सक्छ !
कोभिड-१९ को विश्व ब्यापी महामारि ढिलो, छिटो समाप्त हुन्छ नै ! अहिले राजनितीमा देखिएको चरम स्वार्थी लाजमर्दो अवस्था समेत कोभिड-१९ झैं ढिलो, छिटो समाप्त हुन्छ नै ! बर्तमानको लाजमर्दो राजनिती समाप्त गर्न ईमान्दार, कर्मयोगी युवा जमात अगाडी बढ्नु पर्ने टडकारो खांचो छ ! यो सुनौला अवसर हो मुलुक बनाउने ।हामी एक दशक भित्र धेरै कुरामा आत्मनिर्भर हुन सक्छौं ।
उदाहरणका लागि १० बर्ष भित्र ७५% देखि १००% आत्मनिर्भर हुन सक्ने क्षेत्रहरु निम्न लिखित छन् : शर्त-आत्मनिर्भर हुने ईच्छा शक्ति, त्याग, तपस्या र आवश्यक प्रणालि राज्य र उद्यमी/ब्यनसायिहरुले अवलम्बन गर्नु पर्ने छ !
१. कृषि क्षेत्र (खाद्यान्न,तरकारि,फलफुल, दुध,माछा,मासु,अण्डा आदिको उत्पादनमा शतप्रतिशत आत्मनिर्भरता)
२.लाउने लगाउने बस्तु जस्तो पोशाक, जुत्ता,मोजा, तन्ना जस्तो घरायसी सामान आदिमा १० बर्ष भित्र आत्मनिर्भरता।
३. त्यस्तै दवाई (Allopathic, Ayurvedic, Herbal, Homeopathic etc) उत्पादनमा आत्मनिर्भरता।
४. जलविद्युतको द्रुतविकाश गरि विदेशबाट ठुलो घनराशि खर्च हुने इन्धन (पेट्रोल,डिजेल,कूकिंग ग्यास ईत्यादि) को साटो नेपाललाई शतप्रतिशत विजुलिमय बनाउने ।
५. स्वास्थ र शिक्षाको क्षेत्रलाई राज्यले कुशलतापुर्वक र इमान्दारिका साथ क्रमश: आफ्नो कर्तब्य भित्र सगाल्न निजी क्षेत्रका veteran professionals तथा कुशल/अनुभवि/ईमान्दार ब्यवसायिहरु संग time-bound समझदारि/सम्झौता गर्ने ।
६.पर्यटन हाम्रो हरदम सबल पक्ष रहेको छ तर अफशोच अहिले सबभन्दा प्रताडित यो क्षेत्र रहेको छ । आशा गरौं कोरोनाको कहर कम भए संगै नेपालको पर्यटनले पुन फड्को मार्नेछ ।
७. बाकि रहेको यावत क्षेत्रमा सुधारका निम्ति कम्मर कस्ने बेला अहिले हो । राजनिती गर्नेहरुले नाउ कमाउने मौका अहिले हो । हाम्रोको साटो राम्रोलाई अगालो मार्ने समय हो यो । पापीहरुलाई दण्ड र ईमान्दारीरा साथ काम गर्नेहरुलाई पुरस्कृत गर्ने अवसर हो ।
यो पढि रहने पाठकहरुलाई लाग्दो हो, अहिले कोरोनाको मार र त्यो माथि नागरिकलाई सेवा/सहुलियत पुर्याउने राज्य संयन्त्रको हार भएको यो संकटको बेला के आत्मनिर्भरताको कुरा गर्नु सान्दर्भिक होला ? नकारात्मक ब्यक्तिहरुको कमि छैन संसारमा । अझ सुनिन्छ नकारात्मकताको सूचिमा नेपालको ५औं स्थान छ रे !मलाई लाग्छ, यहि चरम संकट कै घडिमा हामीले हाम्रो कमजोरी र सामर्थको सटिक मुल्याकंन गर्ने हो । नयां जोश, होशले संकटपुर्ण परिवेशको डटेर सामना गर्ने हो ।आत्मनिर्भरताको बाटोमा हिड्ने सकारात्मक सोच बहुलठ्ठिपन होईन ।
देश भित्रै सबै थोक स्वउत्पादन गर्ने भन्दा स्वमानका साथ आफ्नो खुट्टामा उभ्न सक्ने अर्थतन्त्र तर्फ परिलक्षित छ यो सोच ।बाच्नका लागि अरु मुलुकको मुख ताक्न नपरोस भन्ने स्वावलम्बि सोच हो यो । राजनिती गर्न एवं राज्यको निती निर्माण गर्न बाहिरीयाहरुको आड लिन नपरोस भन्ने गर्विलो सोचाई हो यो । नेपाल कुनै वेला सास्कृतिक रुपमा विकशित थियौ किन कि हामी आर्थिक रुपमा अति सम्पन्न राष्ट्र थियौं ।
ठुलठुला विशाल मन्दिर, पाटी,पौवा,ढुगेधाराका अतिरिक्त सास्कृतिक वस्तुहरु गरीब राष्ट्रले बनाउन सक्दैन ।अहिले नेपाल सैद्धान्तिक रुपमा स्वतन्त्र मुलुक भए पनि धेरै कुरामा परनिर्भर छौं हामी !सबभन्दा दुखको कुरा राजनिती क्रमश प्रतिदिन शिथिल र परामुखि हुॅदै गई रहेछ । विगतमा आई परेका संकटहरु भन्दा अहिलेको यो कोभिड-१९ को वैश्विक महामारी अति गंम्भिर र पेचिलो छ।
स्याना देखि मध्यम, ठुला सबै आयवर्गका नागरिक तथा ब्यवसायिहरु संकटग्रस्त छन ! पुर्व मेची देखि पश्चिम लिम्यियाधुरा सम्मका जनता, के धनी, के गरिब सबैको हालत खराब छ । राजनैतिक, आर्थिक,सामाजिक स्थिति ओरालो लागि रहेको परिवेश झनै पिडादायक छ ।
यि सब मारबाट मुक्त हुन, पिडादायी परनिर्भरताबाट उम्कन र गर्वले शिर ठाडो पार्ने सुनौलो अवसर खेरो नफालौं ! हामी सबैले भित्री आत्माबाट अठोट गरेमा विशेष राज्य, public तथा private sectorका देशभक्त नेताहरुले चाहे भने यो देश दक्षिण एशियाको अग्रणी राष्ट्र बन्न सक्छ । मुर्दाबाद धेरै गरियो अब यतापट्टि जिन्दाबाद गरौं ! Enough is enough, लौ न अब त केहि गरौं !
लेखक श्रेष्ठ नेपाल जेसिजका पूर्व अध्यक्ष हुन्।
प्रतिक्रिया