मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रामचन्द्र पौडेलले भने – अब कांग्रेस समात्नुस्, रुख समात्नुस्

रामचन्द्र पौडेलले भने – अब कांग्रेस समात्नुस्, रुख समात्नुस्


काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले १४ औं महाधिवेशनमा कसैको गुटमा नलाग्न कार्यकर्ताहरुलाई आह्वान गरेका छन् । उनले देउवा वा पौडेल पक्ष कसैसँग नटासिन कार्यकर्ताहरुलाई आग्रह गरे ।

शनिबार बिहान काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पौडेलले भने, ‘अब चौधौं महाधिवेशनमा प्रजातान्त्रिक अभ्यास राम्रोसँग गरौं । ज्यादा मेरो पक्ष र तेरो पक्षमा नटासियौं कोही पनि ।

मैले सबैलाई भनेको छु, तपाईंले देउवालाई पनि नसमात्नुस्, पौडेललाई पनि नसमात्नुस् । कांग्रेस समात्नुस्, रुख समात्नुस्, लोकतन्त्र समात्नुस्, संघीय लोकतान्त्रिक गणतन्त्र समात्नुस् ।’ गुटगत राजनीति त्यागेर राष्ट्रप्रति इमान्दार हुनुपर्ने उनको आग्रह थियो ।

उनले कांग्रेसप्रति जनतामा गलत सन्देश गएको बताउँदै त्यसलाई चिर्नुपर्ने बताए । ‘कांग्रेस मिसअन्डरस्ट्यान्डिङको शिकार भएको छ । कांग्रेसप्रति जनतामा गलत सन्देश गएको छ,’ नेता पौडेलले भने, ‘कांग्रेसभित्र निष्ठा भएका, सदाचार भएका, स्वच्छ इमेज भएका सम्पूर्ण मानिसहरु हुँदाहुँदै पनि कांग्रेसको इमेज जनतामा राम्रो भएन ।’

उनले भने, ‘पार्टीले चुनाव हार्नु हुन्थेन । किनभने संविधान ल्याउने यो पार्टी, गणतन्त्र ल्याउने नेतृत्वले यसले गर्ने । त्यसको कार्यान्वयन गर्ने बेला कम्युनिष्टको हातमा जाने । यो विडम्बनाबाट देशलाई मुक्ति दिनुपर्छ ।’

कार्यक्रममा कांग्रेस नेता उदयशमसेर राणाले, सरकारले जनअपेक्षा अनुरुप काम नगरेको भन्दै आलोचना गरे । कार्यक्रममा बिभिन्न मितिमा सगरमाथाको सफल आरोहण गरेकाहरुलाई कांग्रेस प्रवेश गराइएको थियो ।