मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकार पविर्तनको चर्चा निराधार : मन्त्री ज्ञवाली

सरकार पविर्तनको चर्चा निराधार : मन्त्री ज्ञवाली


फाइल फोटो

काठमाडौं – परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सरकार परिवर्तनको चर्चा निराधार भएको बताएका छन्। गुल्मीमा कोभिड–१९ सङ्क्रमण तथा रोकथाम तथा नियन्त्रणका लागि आज तम्घासमा रेसुङ्गा नगरपालिकालाई पिसीआर मेसिन हस्तान्तरण गर्दै परराष्ट्रमन्त्री ज्ञवालीले नेकपाभित्र विद्रोह हुन्छ र पार्टी दुर्घटनामा पर्छ भनेर कसैले कल्पना गरेको छ भने त्यो गलत सावित हुन्छ भने।

नेकपाको एकता मुलुकको संविधान, लोकतान्त्रिक प्रणाली, राष्ट्रिय एकता र राष्ट्रियताको लडाइँजस्ता धेरै कुरामा जोडिएको उल्लेख गर्दै मन्त्री ज्ञवालीले जनादेश पूरा गर्न वर्तमान सरकार सक्षम रहेको बताए। नेकपाका नेतासमेत रहनुभएका मन्त्री ज्ञवालीले अहिलेको लडाइँ भनेको बेरोजगारी, विदेशबाट फर्किएकाहरूको व्यवस्थापन र नक्सामा समेटिएको भूभागलाई कसरी फर्काउने, देशको अर्थतन्त्रलाई मजबुत बनाउने एवं जनतालाई कसरी सुखी र समृद्ध बनाउने भन्ने कुरा नै मुख्य चुनौती रहेको धारणा व्यक्त गरे।
 
स्रोत र साधनका हिसाबले अहिलेसम्म कोभिडविरुद्धको लडाइँमा सफलता मिलेको भन्दै मन्त्री ज्ञवालीले विज्ञबाट अझै पनि सङ्क्रमण बढ्न सक्ने र खराबको स्थिति अझै सामना गर्न बाँकी रहेकाले त्यसको तयारीमा तीन सरकार लाग्नुपर्नेमा जोड दिए। मन्त्री ज्ञवालीको पहलमा हिमालय एयरलाइन्सले सहयोग गरेको पिसीआर मेसिन हस्तान्तरण गर्न उनी आज हेलिकोप्टरमार्फत मेसिन लिएर जिल्ला आएका हुन्।

मन्त्री ज्ञवालीले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत रेसुङ्गा नगरपालिकाका प्रमुख डिल्लीराज भुसाललाई मेसिन हस्तान्तरण गरेका थिए। गुल्मीमा पहिलोपटक पिसीआर मेशिन उपलब्ध भए पनि यसको अन्य व्यवस्थापकीय तयारी गर्नुपर्ने भएका कारण जिल्लामा कोरोना परीक्षण गर्न एक महिना समय लाग्ने गुल्मी अस्पतालका डा उत्तम पाच्यले बताए।