धनगढी : आफ्ना नेता तथा कार्यकर्तालाई कृत्रिम मुद्धा बनाएर पक्राउ गरेको भन्दै नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सेती–महाकाली ब्यूरोले आज पनि संघर्षका कार्यक्रम जारी राख्ने जनाएको छ।
रचनात्मक ढंगले कामकारवाही गरिरहेको बेला सरकारले गैरन्यायिक तरिकाले धनगढीबाट पक्राउ गरेका आफ्ना नेताकार्यकर्ता रिहा नगरेको भन्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको ब्यूरोले आज पनि आन्दोलनका कार्यक्रम जारी राख्ने जनाएको हो।
मंगलावर सुदूरपश्चिम बन्द गराएको ब्यूरोले आज सरकारी सवारी सञ्चालनमा रोक लगाउने जनाएको छ। ७ र ८ गते सरकारी सवारी सञ्चालनमा प्रतिबन्ध गरिने ब्यूरोले जनाएको छ।
गत बुधबार कैलाली प्रहरीले धनगढी उपमहानगरपालीका वडा नम्बर ७ वेलीबाट विप्लव समूहका केन्द्रिय सदस्य तथा सेती महाकाली ईन्चार्ज ओमप्रकाश पुन र अखिल नेपाल महिला संगठन (क्रान्तिकारी) की सेती महाकाली व्युरो ईन्चार्ज पुर्णीमा भन्ने गौरा धामीलाई पक्राउ गरेको थियो।
उनीहरुका साथबाट एक थान कटुवा पेस्तोल र एक राउण्ड गोलीसमेत बरामद गरिएको प्रहरीले जानकारी दिएको थियो।
प्रतिक्रिया