सुनसरी- धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा फेरि एक जना जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो सँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको छ ।
महोत्तरी घर भएका ६० वर्षीय पुरुषको उपचारका क्रममा मंगलबार राति ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा दिनेश सापकोटाले जानकारी दिए।
उनका अनुसार संक्रमित उपचारका लागि अस्पताल आउँदा नै सिकिस्त अवस्थामा थिए । उनलाई सुरुमा आइसियुमा राखेर उपचार गरिएको थियो।
उनमा कोरोना पोजिटिभ देखिएपछि मंगलबार दिउँसो आइसियुबाट आइसोलेसनमा स्थानान्तरण गरिएको थियो।
मृतक रुघाखोकी र ज्वरोले सताएपछि अस्पताल भर्ना भएका थिए । उनी सोमबार मात्रै अस्पताल भर्ना भएको प्रवक्ता सापकोटाले जानकारी दिए ।
यसअघि धरानको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमै सप्तरीका एक पुरुषको उपचारको क्रममा मृत्यु भएको थियो ।
नेपालमा अहिलेसम्म कोरोनाबाट ४१ जनाको मृत्यु भएको छ । १७ हजार ९ सय ९४ जना कोरोनाबाट संक्रमित भएका छन् ।
प्रतिक्रिया