मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज नेकपाका संस्थापक महासचिव पुष्पलालको ४२औँ स्मृति दिवस

आज नेकपाका संस्थापक महासचिव पुष्पलालको ४२औँ स्मृति दिवस


काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरणमा ४२औँ स्मृति दिवस बुधबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष कोभिड–१९ का कारणले बृहत् कार्यक्रम भने तय भएकाे छैन ।

पुष्पलाल स्मृति प्रतिष्ठानका महासचिव गङ्गालाल तुलाधरका अनुसार स्मृति दिवसका अवसर प्रतिष्ठानको आयोजनामा कीर्तिपुरको चम्पादेवीमा अवस्थित पुष्पलाल स्मृति पार्कमा अनौपचारिक कार्यक्रम राखिएको छ ।

नेपालमा कम्युनिस्ट पार्टीमार्फत जनताका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यसाथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको नयाँदिल्लीस्थित गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।  नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि संघर्ष गरे ।

पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठका माइला सुपुत्रका रूपमा रामेछापको भङ्गेरीमा विसं १९८१ असार १५ मा उनको जन्म भएको थियो । आफ्नो जीवनभर सङ्गठन विस्तारमा लागेका उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरे ।

पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गङ्गालाल श्रेष्ठका माइला भाइसमेत हुन् । पञ्चायती निरङ्कुशताको अन्त्यका लागि ‘संयुक्त जनआन्दोलनको कार्यदिशा’ २०२५ सालमा अगाडि सार्ने उनी पहिलो नेता हुन् । उनले नेकपा स्थापना गर्दा घोषणापत्रमा सामन्ती एकतन्त्रीय शासनको अन्त्य गर्ने, वैदेशिक शोषण र दमन समाप्त पारी राष्ट्रियता, स्वाधीनता हासिल गर्ने, वालिग मताधिकार कायम गर्ने, संविधानको आधारमा जनताका लागि पूर्ण स्वतन्त्रता तथा प्रजातन्त्र सुरक्षण गर्ने, मजदूर किसान श्रमजीवी जनताको हितलाई प्राथमिकता दिने उल्लेख थियो ।

यस्तै घोषणापत्रमा सामन्तवाद, साम्राज्यवाद विरोधी शक्तिहरूको सरकार स्थापना गर्ने तथा क्रान्तिकारी भूमिसुधार लागू गर्नेसमेत समावेश थियो । पुष्पलालको नेतृत्वमा नेपालमा पहिलोपटक विसं २००६ वैशाख १० गते नेकपा स्थापना भएको थियो । पार्टी स्थापना गर्दा कोलकाताको श्यामबजारस्थित एक भवनमा पुष्पलाल, नरबहादुर कर्माचार्य, निरञ्जन गोविन्द वैद्य, नारायणविलास जोशी र मोतीदेवी श्रेष्ठ रहेका थिए।

उनले स्थापना गरेको नेकपा विभिन्न चरणमा फुटेर विभिन्न कम्युनिष्ट पार्टी बनेका छन् । २०७५ जेठ ३ गते भने नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) मिली पुनः अहिले त्यही नेकपा पार्टी बनेको छ । उनको विचार र दर्शनका आधारमा आज नेकपाले आर्थिक समृद्धिको नारासहित दुई तिहाइ जनमत प्राप्त सरकारको नेतृत्व गरिरहेको छ ।