मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विमानस्थल खुल्ने भएपछि एयरलाइन्सको बुकिङ खुला

विमानस्थल खुल्ने भएपछि एयरलाइन्सको बुकिङ खुला


काठमाडौं । सरकारले भदौं १ गतेदेखि आन्तरिक तथा बाह्य हवाई सेवा खोल्ने निर्णय गरेसँगै एयरलाइन्सहरुले पनि तयारी थालेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले पनि नियमित हवाई सेवा सञ्‍चालन गर्न तयारी थालेको छ ।

विमानस्थलले आन्तरिकतर्फ दैनिक ४० उडान र बाह्यतर्फ १५ वटासम्म उडान गर्ने गरी तयारी गरेको विमानस्थलका प्रमुख देवेन्द्र केसीले जानकारी दिए । “कोभिड-१९ संक्रमणको जोखिम हेरेर आन्तरिक र बाह्यतर्फको उडान गर्ने गरी तयारी गरेका छौं” उनले भने, “विमानस्थलमा प्रस्थान तथा आवागमन लागि अन्य दिनभन्दा बढी लाग्‍ने भएकाले उडानलाई निश्चित संख्यामा सीमित गर्ने तयारी छ ।”

कोरोना जोखिमलाई ध्यानमा राख्दै अन्तर्राष्ट्रियतर्फ दैनिक १५ भन्दा बढी उडान गर्न सम्भव नभएको उनले बताए । अन्तर्राष्ट्रिय यात्रु विमान उड्ने समयभन्दा चार घण्टा अगाडि नै विमानस्थल पुग्नुपर्नेछ । यसअघि सामान्य अवस्थामा तीन घण्टा अगाडि विमानस्थल पुग्‍नुपर्थ्यो ।

संक्रमण जोखिम कम गराउन विमानस्थलमा भएका जनशक्तिका लागि स्रोत साधन थप्‍नुपर्ने उनले बताए । “त्यसको पनि तयारी गर्दैछौं,” उनले भने । नेपाल नागरिक उडड्यन प्राधिकरणले यसअघि नै जारी गरेको प्रोटोकल अनुसार हवाई सेवा सुचारु गर्ने निर्णय सरकारले गरेको हो । त्यो प्रोटोकलमा एयरलाइन्स कम्पनी, यात्रु, ग्राउण्ड ह्यान्डलिङलगायत सबै पक्षले के के गर्नुपर्ने भन्ने व्यवस्था गरिएको छ ।

निजी कम्पनीले पनि थाले तयारी

भदौं १ देखि नियमित हवाई सेवा सुचारु हुने भएपछि एयरलाइन्स कम्पनीहरुले पनि तयारी थालेका छन् । लकडाउन अघिकै टिकट मूल्य र सुरक्षित तरिकाले उडान भर्न एयरलाइन्सहरुले आफ्नो तयारी गरेका हुन् ।

यति एयरलाइन्सका प्रमुख कार्यकारी अधिकृत अनोज रिमालले सुरक्षाका सम्पूर्ण उपाय अपनाइएको बताए । “सुरक्षाका सम्पूर्ण उपाय अपनाएका छौँ । मास्क, स्यानिटाइजर, विमानलाई डिसइन्फेक्सन गर्ने लगायतका सबै काम गर्छौ । ढुक्क भएर यात्र गर्दा हुन्छ,” उनले भने ।

एयरलाइन्सले व्यवसायिक उडानका लागि बुकिङ खुला गरिसेको उनले बताए । अन्तरिकतर्फ पनि उडान समयभन्दा दुई घण्टा अगाडि विमानस्थल पुग्नुपर्ने हुन्छ । सामान्य अवस्थामा एक घण्टा अगाडि विमानस्थल पुगे हुन्थ्यो ।

विमानमा यात्रा गर्दा अनिवार्य रुपमा मास्क लगाउनुपर्ने, व्यक्तिको तापक्रम एक सय दशमलव ४ डिग्रीभन्दा बढी भएमा यात्रा गर्न नपाइने गरी प्रोटोकल बनाइएको छ । – बारह्खरी