मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रिसलाई कसरी सही ठाउँमा उपयोग गर्ने ?

रिसलाई कसरी सही ठाउँमा उपयोग गर्ने ?


बीबीसी । रातो अनुहार, तेज धड्कन, बोल्न नहुने शब्दहरु मुखबाट निस्कनुलगायतका लक्षणसँग रिस उठ्नेहरु परिचित छन् जुन अनुभव कतिपय अवस्थामा पीडादायी पनि बन्ने गर्दछ ।  यसरी रिस आक्रामकताबाटै उत्पन्न हुन्छ र विनाशकारी हुन सक्छ भन्ने हामीलाई सानैदेखि सिकाइन्छ । तर त्यही रिसलाई सहि ठाउँमा उपयोग गर्दा हाम्रा लागि फाइदाकारक पनि हुन सक्छ ।

रोमन दार्शनिक सेनेकाले रिसलाई ‘छोटो अवधिको पागलपन’ जसले मान्छेलाई विनाशतर्फ लैजान सक्छ भनि व्याख्या गरेका छन् ।  उनका अनुसार रिस भीरबाट खसिरहेको ढुङ्गा जस्तै हो जुन कसैसँग ठोक्किएमा आफैँ पनि टुक्राटुक्रा हुनेछ ।  उनको दृष्टिकोणमा रिसराग हामीभित्र लुकेको सबैभन्दा ऊर्जापूर्ण भावना हो र यो दुष्ट पनि हुने हुँदा यसले निम्त्याउने विपत्तिका कारण व्यक्तिले ठूलो मूल्य चुकाउनुपर्ने हुन सक्छ । विशेषगरी अहिलेको अवस्थामा महामारी र लकडाउनले मान्छेलाई विवश र बाध्य बनाइदिएका कारण धेरै मान्छेमा असामान्य रुपमा पहिले भन्दा बढी रिसाउने समस्या देखिरहेको छ । 

उदाहरणका लागि बेलायतमा मात्र महामारी अवधिभरि डिभोर्सको दर ४० प्रतिशतले वृद्धि भएको हो । तर राम्रै समयमा पनि रिसाएका बेलामा, अफिसका सहकर्मीसँग झगडा गर्नु वा परिवारका सदस्यसँग बहस गर्दा, त्यो समयमा हामीले उठाउने कदमले भविष्यमा ठूलो पछुतो गराउनेछ । त्यसैले पनि अधिक आक्रामकता वास्तवमै विनाशकारी हुन सक्छ भनिएको हो । 

तर विभिन्न अनुसन्धान र अध्ययनहरुले रिस, निराशालगायत नकारात्मक भावले कहिलेकाहिँ हामीलाई फाइदा पनि गराउन सक्ने प्रमाण देखाएका छन् ।  ती भावनाहरुलाई भित्रै दबाएर राख्नुको सट्टा सहि ठाउँमा उपयोग गर्न सकेमा प्रभावकारी हुने विज्ञहरु बताउँछन् । युनिभर्सिटी अफ पिट्सवर्गका वैज्ञानिक आर डेभिड लेबलले भनेका छन्, “भावना मनभित्र लुकाएर, दबाएर राख्नुले धेरै थकान गराउँछ । त्यसैले त्यो ऊर्जा बाहिर निकालेर उचित रुपमा प्रयोग गर्न सकियो भने चाहिँ यसबाट प्रत्यक्ष फाइदा उठाउन सकिन्छ ।”

के हुन् त ती फाइदा ?
रिसको सम्भावित लाभको पहिलो उदाहरण हो फिटनेस । किनकि रिसाएका बेला हाम्रो शरीर लडाईँका लागिसमेत तयार भइरहेको हुन्छ जसकारण मान्छेमा एक्कासी धेरै बल आउन सक्छ । यसले विभिन्न खेलहरुमा मद्दत गर्न सक्ने सम्बन्धी अहिले नै थुप्रै प्रमाणहरु छन् । रिस मानसिक रुपमा सक्रिय हुने भावना भएकाले पनि त्यसलाई कुनै शारीरिक लक्ष्य पूरा गर्नका लागि उपयोग गर्न सम्भव भएको युनिभर्सिटी अफ टोरोन्टोका ब्रेट फोर्ड बताउँछन् । 

२००९ मा बेलायतमा यससम्बन्धी गरिएको पहिलो स्पोर्टस् अनुसन्धानमा सहभागीहरुलाई एकदमै रिस उठ्ने अवस्था कल्पना गर्न लगाइ, उनीहरुको खुट्टाको बल परीक्षण गरिएको हो । रिसाइरहेका बेला उनीहरुलाई आफूले सकेजति चाँडो र पूरै बल लगाएर लात्तीले हान्न भनिएको हो जसपछि तिनको बल र शारीरिक हलचल मापन गरिएको थियो । यसमा रिसको भावले नै उनीहरुको प्रस्तुती उल्लेखनीय रुपमा बढाइदिएको पाइएको हो ।  यसरी निराशा, रिसलगायत कुनै पनि नकारात्मक भावनालाई एक्सरसाइजमा परिणत गर्न सकिन्छ । त्यस्तै उफ्रिने, दौडिनेलगायतका खेलमा पनि जति धेरै रिस महसुस गर्यो, त्यति नै छिटो दौडने र त्यति नै माथि उफ्रिन सक्ने गरेको पाइएको हो । 

यसरी ऊर्जाका साथै रिसको भावनाले हाम्रो सटिक हुने क्षमता पनि बढाउन सक्छ । एनबीए, बास्केटबल खेलाडीहरुमा गरिएको अनुसन्धानले सो तथ्य पुष्टि गरेको हो । जस्तै खेलाडीले ‘फ्रि थ्रो’ का बेलामा विपरीत टिमसँग नकारात्मक अन्तरक्रिया भएमा स्कोर गर्ने सम्भावना धेरै रहेको पाइएको हो ।  वास्तवमा परम्परागत रुपमा धेरै मान्छेमा रिसाएका बेला बल बास्केटमा छिराउन नसकिने विश्वास रहेको थियो तर वैज्ञानिक अनुसन्धानले भने यसको विपरीत चाहिँ सही भएको प्रमाणित गरेको छ । 

यसैगरी आइस–हकी खेलाडीहरुको सन्दर्भमा पनि उनीहरुले अन्त्यमा विजेता निर्धारित गर्ने सुटआउट भन्दा फल खेलका कारण दिइएको पेनाल्टीमा स्कोर गर्ने सम्भावना धेरै हुन्छ ।  यसरी खेलक्षेत्र बाहेक रिसले दृढता सम्बन्धी मानसिक चुनौती पार गर्नमा पनि सुधार ल्याउन सक्ने बताइएको छ । जस्तै ‘युनिभसिटी अफ क्यालिफोर्निया र टेक्सस एम एण्ड एम युनिभर्सिटी’ ले संयुक्त रुपमा गरेको अनुसन्धानमा सहभागीहरुलाई २१ वटा पाँच अक्षरका पजलहरु समाधान गर्न लगाइएको थियो जुन वास्तवमा असम्भव समान थियो किनकि तिनका केही अर्थ थिएनन् । तर सहभागीहरुलाई यसबारे जानकारी गराइएको थिएन । 

यस्तोमा पजलको प्रत्येक चरणमा सहभागीहरुले एउटा शब्द पनि समाधान गर्न नसक्दा महसुस गरेको भावनाबारे प्रश्न गरिएको थियो । यसरी असफल हुँदाको मुड सहभागीअनुसार फरकफरक देखियो । कतिलाई दुःख लाग्यो भने कतिलाई केही फरक परेन । तर जो सबैभन्दा रिसाएका र यसबाट चिढिएका थिए, उनीहरुले चाहिँ हरेक पजल समाधान गर्दा एकैसमानको दृढतापूर्वक काम गरेको पाइएको हो । 

त्यस्तै रिसले मान्छेको रचनात्मक क्षमतालाई पनि बढावा दिन सक्छ ।  दुःखी वा साधारण भावनाको तुलनामा रिसाएका बेला मान्छेले नयाँ नयाँ रचना र उपायहरुको खोजी गर्न सक्ने पाइएको हो । अचानक ठूलो स्तरमा उत्पन्न रचनात्मक ऊर्जा धेरै लामो समयसम्म टिक्न सक्दैन तर छोटो अवधिमै पनि यसले धेरै ठूलो मद्दत पुर्याउन सक्ने विज्ञहरुले बताएका हुन् । 

जस्तै अफिसमा काम गर्दा कुनै झन्झटपूर्ण अवरोध सामना गर्नु परिरहेको छ भने त्यतिबेला यो उपयोगी साबित हुन सक्छ ।  सो अवस्थामा रिस, निराशालगायतका भावनाले राम्रो काम गर्न प्रेरित गर्न सक्छ ।  तर यसमा हाम्रो भावना कुन स्तरमा छ त्यसैमा नतिजा निर्भर भएको फोर्ड बताउँछन् ।  यसरी रिस कतिबेला व्यक्त गर्ने र कसरी सहि ढङ्गमा व्यक्त गर्ने भनेर थाहा पाउनुले धेरै कुरामा मद्दत गर्न सक्छ । तर यस किसिमको क्षमता कसरी विकसित गराउने भन्ने प्रश्न पनि आउँछ ।  जस्तै हालैको अध्ययन र विश्लेषणहरुमा रिसलाई कसरी सकारात्मक बदलावमा परिणत गर्ने भन्ने केही तरिकाहरु पनि उल्लेख गरिएको छ । यसमा पहिले त मान्छेले धैर्य रहन सिक्नुपर्ने हुन्छ जसले उनीहरुलाई कुनै पनि विवादमा पर्दा योजनाबद्ध रुपमा प्रतिक्रिया दिन पर्याप्त समय दिलाउनेछ र सो क्षमता मार्फत हामीले भावनालाई अरु नै ऊर्जाका रुपमा प्रयोग गर्न सक्नेछौँ । 

यसमा पहिले त मान्छेले आफ्नो रिस पहिचान गर्न सक्नुपर्छ र त्यसपछि केही घण्टा वा केही दिनसम्म पर्खिएर त्यसलाई कसरी प्रभावकारी रुप दिन सकिन्छ भनेर सोच्न सकिन्छ ।  यस्तो सोचिरहँदा हाम्रो ध्यान भङ्ग गराउने किसिमका काम गर्न वा प्रतिक्रिया दिनबाट चाहिँ आफूलाई रोक्नुपर्ने हुन्छ ।  त्यस्तै समस्यालाई विस्तृत रुपमा हेर्ने गर्न पनि सकिन्छ । जस्तै कार्यालयमा रहँदा आफूमा मात्र ध्यान दिनुको सट्टा हामीले कस्तो अवस्थाले सहकर्मीहरुलाई कसरी प्रभाव पारिरहेको छ भन्ने ख्याल गर्न सक्छौँ । 

यसले हामीलाई उनीहरु समक्ष आफ्नो भावना व्यक्त गर्दा अधिक रचनात्मक तरिका अपनाउनमा मद्दत पुर्याउन सक्छ ।  यसैगरी कतिपय अवस्थामा हाम्रो रिस्ले चरम बिन्दु पार गर्दा, कस्तो प्रतिक्रिया जनाउने भन्ने थाहा हुँदैन ।  यसको सामना गर्न चाहिँ हामी मानसिक उपाय लगाउन सक्छौँ । एकदम छिटो आक्रोशमा आउने व्यक्तिहरुका लागि यो उपयोगी हुन सक्छ, जसमा व्यक्तिले रिस उठ्दा आफ्नो प्रतिक्रिया पहिले नै कल्पना गरि भविष्यमा त्यसको परिणामबारे सोच्न सक्छन् । 

यसो गर्नाले हाम्रो रिस तत्कालै हराउँदैन तर हामीलाई समझदारीपूर्ण निर्णय लिनमा मद्दत मिल्छ ।  त्यस्तै अर्को तरिका चाहिँ आफूलाई रिस उठेका कुराहरु लेखेर कापीमा उतार्नु हो ।  थुप्रै अध्ययनहरुले भावना व्यक्त गर्ने यो राम्रो उपाय भएको साबित गरिसकेका छन् । यसले हाम्रो मष्तिस्कलाई सचेत बनाउनमा मद्दत गर्छ । यी तरिकाहरु अपनाउन सक्ने बन्नमा समय लाग्न सक्छ तर यसको सदुपयोग गरेमा चाहिँ हामीलाई स्वस्थ र सुखी क्षण दिलाउनेछ । 

प्रसिद्ध दार्शनिक एरिस्टोटलले पनि यसअघि रिसको भावनामा सकारात्मक परिवर्तन ल्याउन सक्ने क्षमता रहेको बताएका थिए ।  उनका अनुसार यसमा एउटा मात्र चुनौती भनेको, ‘उचित व्यक्तिसँग, उचित समयमा, उचित स्तरमा, उचित कुराका लागि र उचित तरिकाले’ रिसाउन सक्नु हो ।