मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जनता सुखी बनाउन पार्टी बलियो हुनुपर्छ : ओली

जनता सुखी बनाउन पार्टी बलियो हुनुपर्छ : ओली


काठमाडौं– प्रधानमन्त्री एवम् सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बलियो बनाउँदै देशलाई समृद्ध र नागरिकलाई सुखी बनाउन एकताबद्ध भएर अघि बढ्नु अपरिहार्य भएको बताएका छन्।

तुलसीलाल अमात्यको २३औं स्मृति दिवसका अवसरमा ओलीले पहिलो पुस्ताका कम्युनिष्ट नेताले पसिना बगाएर निर्माण गरेको पार्टीलाई एकताबद्ध बनाउनु आजको आवश्यकता भएको बताएका हुन्।

अमात्यलगायतका नेताको मिहिनेतबाट बनेको अहिलेको नेकपाले करिब दुईतिहाई बहुमतका साथ प्रमुख स्थान हासिल गरेको भन्दै प्रधानमन्त्रीले अग्रजका सपना साकार पार्ने बाटोमा महत्वपूर्ण काम गरेको बताएका छन्।

‘तुलसीलाल अमात्यको जुन राजनीतिक उद्देश्य थियो, त्यसलाई आज हामीले धेरै हदसम्म पूरा गरेका छौं,’ प्रधानमन्त्रीले भनेका छन्।

को हुन् तुलसीलाल अमात्य?

तुलसीलाल अमात्य नेपालको पहिलो पुस्ताका कम्युनिष्ट नेता हुन्। सन् १९४९ सेप्टेम्बर १५ मा पार्टीका संस्थापक महासचिव पुष्पलालको नेतृत्वमा कम्युनिष्ट घोषणा पत्र जारी गर्दा उनी पनि सहभागी थिए।

अमात्य २००८ सालमा स्थापना भएको अखिल नेपाल किसान संघको संस्थापक अध्यक्ष थिए। उनले वि.सं २००९ देखि २०१४ सम्म ठूला किसान विद्रोहको नेतृत्व गरेका थिए।

लाखौं किसान सहभागी रहेको ऐतिहासिक किसान आन्दोलनमा बारा, पर्सा र रौतहटका किसानलाई सामन्तले गराएका तमसुक जलाएर उनकै नेतृत्वमा किसानलाई ऋणमुक्त गराइएको थियो।

कम्युनिष्ट आन्दोलनलाई आधारभूत तहको किसान आन्दोलनको जगमा विकास गर्न उनको विशेष भूमिका छ। २०१५ सालमा भएको पहिलो संसदीय निर्वाचनमा ललितपुरबाट नेपाल कम्युनिष्ट पार्टीको सांसद भई संसदीय दलको नेतृत्व गरेका थिए।

तत्कालीन संसदको राष्ट्रिय सभामासहित ५ सिट रहेको कम्युनिष्ट पार्टीको संसद्मा सशक्त भूमिकाका लागि तुलसीलाल अमात्यको स्मरणीय योगदान छ। २०१९ सालमा भएको नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनबाट उनी पार्टीको महासचिव चुनिएका थिए। नेपाल समय