मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

डा. कृष्णहरी बरालका दुई गजल

डा. कृष्णहरी बरालका दुई गजल


गजल– १
छलछाम गरेर हरदम मैलाई जलाउन खोजे
आफैं खरानी हुन्छ्यौ आगो चलाउन खोजे 

मेरो यो मनको आगो मायाले मात्र निभ्छ
म हुन्न भन्छु कहाँ माया लगाउन खोजे 

रोइदिन्थेँ डाँको छोडी आँखामै छ्यौ नि तिमी
बग्छ्यौ कि डर लाग्छ आँशु बगाउन खोजे 

बदलिन्न हेर मेरो माया यो गर्ने बानी
हिउँ हिउँ’ हुन्न कैल्यै तातो बनाउन खोजे ।

गजल– २
अमृत प्युँछन् यहाँ कोही, कठै कोही रहर प्युँछन्
मजस्तै छन् अहो ! कत्ति कहर प्युँछन्, जहर प्युँछन्

म गावैंको हुँ निर्धो दिल, सहरको चाल अर्कै छ
सहरद्वारा पिइन्छन् धेर, कमैले पो सहर प्युँछन् 

कतै रक्सी, कतै धूमपान, कतै आँसु कतै केके 
दुनियाँ यो भनूँ कस्तो केही क्यै हर प्रहर प्युँछन् 

अरूको के कुरा भन्नु गजलकै हाल भो उस्तै 
कतै तुक नै, कतै भावै, कतै केवल बहर प्युछन् ।