मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ट्रक साहित्यबाट जन्मिएको ‘फोटो फिरिममा’

ट्रक साहित्यबाट जन्मिएको ‘फोटो फिरिममा’


फोटो फिरिममा, कैले मिलन कैले बिछोड माया–पिरिममा कलाकार तथा सञ्चारकर्मी शिशिर भण्डारीको यो गीत अहिले युट्युब ट्रेन्डिङमा छ। गीत गायक र गायिका दुवैको स्वरमा सार्वजनिक भइसकेको छ। गीतमा गायक प्रताप दास र गायिका रचना रिमालले आवाज दिएका छन्।

चार महिनाअघि रचनाको स्वरमा रिलिज भएको गीत युट्युबमा ६१ लाखभन्दा बढीले हेरेका छन्। दुई साताअगाडि प्रतापको स्वरमा रिलिज भएको गीतलाई शुक्रबारसम्म २२ लाखभन्दा बढीले हेरिसकेका छन्। संगीत सिर्जनामा भण्डारीलाई कुन तत्त्वले प्रभाव पार्यो त? तीन वर्षअघि काठमाडौंको सडकमा स्कुटरमा यात्रा गरिरहँदा शिशिरको आँखा ट्रकको पछाडि लेखेको साहित्यमा पर्‍यो। त्यहाँ लेखिएको थियो–

पहिले यो मन पूर्णिमा थियो तिम्रो एक हेराइले     
अहिले जीवन औंसी बन्यो तिम्रै मन फेराइले,

उनलाई यी हरफ निकै मन पर्यो। स्कुटर साइड लगाएर ती शब्द मोबाइलमा कैद गरे। उनलाई दिनभर ती शब्दले ऊर्जा थपिरह्यो। घर पुगेपछि ती हरफलाई संगीत दिए। त्यसको पछाडि थपे– फोटो फिरिममा। कम्पोजमा निकै राम्रो सुनियो। ती शब्दका रचनाकार को हुन्? उनलाई थाहा छैन। अरूको शब्द किन रेकर्ड गर्न मन मानेन। अनि उनले शब्द परिवर्तन गरे र लेखे–

चर्किएको ऐनासरि फुट्यो हाम्रो माया।
तिम्ले घात गरेपछि टुट्यो हाम्रो माया।
चोखो माया गर्ने मेरो दिल तोडी गयौ।
छुट्ने बेला चिनो आफ्नै फोटो छोडी गयौ।
फोटो फिरिममा।

अन्तरामा पूर्वप्रेमिका

गीतको स्थायी त बन्यो। शिशिरले लामो समयसम्म अन्तरा लेख्न सकेनन्। गीतको अन्तरा बनेर आइन् उनकी पूर्वप्रेमिका। केही वर्षअगाडि शिशिरले कसैलाई प्रेम गर्थे। शिशिर भन्छन्, ‘सम्बन्धमा उतारचढाव आइरहन्छन्। कोही प्रेमिका थिइन्। मैले नै साथ दिन नसक्ने भएपछि हामी अलग भयौं। त्यसपछि उनले के सोचिन् होला भन्ने लाग्थ्यो। त्यही भाव फोटो फिरिममा गीत बन्यो।’ साथ दिन नसके पनि प्रेमिकालाई गीतको अन्तरामा जोड्न पाएकामा शिशिर खुसी छन्।

गीत रिलिज भइकेपछि पूर्वप्रेमिकालाई पठाएको उनी सुनाउँछन्। उनले भने, ‘मेरो सफलतामा उनको अप्रत्यक्ष भूमिका रह्यो। मेरो शब्दलाई उनको भूमिकाले सहयोग ग¥यो।’

गीत तयार भयो। अब गायक कसलाई रोज्ने? किनकि भण्डारी आफैं गायक हुन्। उनी आफैँ पनि गाउन सक्थे। उनी भन्छन्, ‘गीत लेख्दै गर्दा आफैँ गाउँछु भन्ने थियो। तर एरेन्ज निकै राम्रो भयो अनि मेरो स्वरले गीतलाई न्याय दिन सक्दैन भन्ने लागेर प्रतापलाई रोजेको हुँ।’

गायिकामा रचना नै किन?

शिशिरले गायिका मेलिना राईसँग सहकार्य गर्न खोजेका थिए। मेलिनाको समय नमिलेपछि सामाजिक सञ्जालमा गायिका आवश्यकता भन्ने भावको स्टाटस लेखे। धेरैले रचना रिमालको नाम लिएकाले उनलाई स्थान दिएको शिशिर बताउँछन्। रिमालले नेपाल आइडल सिजन ३ बाट सांगीतिक यात्रा सुरु गरेकी हुन्।

फोटो फिरिममा गीतले पूर्णता पाउन करिब तीन वर्ष लागेको उनी बताउँछन्। उनका अनुसार फोटो फिरिममा रिलिज भइसकेपछि चर्चित गायक र संगीतकारले सकारात्मक प्रतिक्रिया दिए। उनी भन्छन्, ‘मैले आत्मसन्तुष्टिका लागि सामान्य शब्द लेखेजस्तो लागेको थियो। सबैको प्रतिक्रिया पाएपछि शब्द पनि राम्रै भएछ जस्तो लागेको छ।’

म्युजिक भिडियोमा भण्डारी आफैँले अभिनय गरेका छन्। विकल श्रेष्ठको निर्देशनमा बनेको गीतमा भण्डारीकै संगीत र कुशल सिंहको संगीत संयोजन छ। उनी फोटो फिरिममा २ ल्याउने तयारीमा छन्। फोटो फिरिममा २ लाई अहिलेको भन्दा बलियो बनाउनुपर्ने चुनौती थपिएको उनी बताउँछन्।

उनी आधुनिक शैलीका गीतलाई निरन्तरता दिने बताउँछन्। भण्डारी भन्छन्, ‘अभिनयमा मलाई लोभ लाग्छ। मैले आफूले लगानी गरेका गीतमा प्रायः आफैँले अभिनय गरेको छु। चलचित्रमा गर्न नपाएको अभिनय गरेर चाहना पूरा गरेको हुँ।’

गीतसंगीतमा कसरी आकर्षण?

भण्डारी २०६२ सालमा एसएलसी पास भएपछि विज्ञान पढ्न धादिङबाट राजधानी छिरेका हुन्। परिवारको चाहना डाक्टर बनाउने थियो। उनी भन्छन्, ‘मलाई विज्ञान पढ्नै मन लागेन। राजधानी आएपछि एक्लोपनले सतायो। रेडियोमा फोन गर्न थालें। रेडियोसँग निकटता बढ्यो।’

उनले बिस्तारै रेडियो कार्यक्रममा भाग लिन थाले। केहीमा पुरस्कार पनि जिते। त्यसपछि रेडियो कार्यक्रमको प्रशिक्षण लिए। उनी सम्झन्छन्, ‘२८ दिनमा कार्यक्रमको डमी बनाएको थिएँ उल्टोपाल्टो। रेडियोअडियोले त्यो कार्यक्रम स्वीकार गर्यो।’ त्यसपछि उनले टेलिभिजनमा काम गर्न थालेर बिस्तारै कलाकारितातर्फ लागे।

शिशिरका बुबा नवराज भण्डारी पनि गायक हुन्। रेडियो नेपालमा बुबाले गीत गाइरहँदा उनलाई लाग्थ्यो, ‘बुबा रेडियोभित्र छिर्नुभयो अब कहिल्यै आउनुहुन्न।’ संगीतमा लाग्न बुबाबाट प्रेरणा मिलेको उनी सुनाउँछन्। त्यसो त स्कुलका आयोजना हुने कार्यक्रममा पनि उनी गीत गाउँथे। ‘म सानैदेखि म रामकृष्ण ढकालको फ्यान थिएँ। उहाँका गीत निकै सुन्थें र जानी–नजानी गाउँथें पनि।’ – नेपालसमय