अछाम – पत्रकार धुब्र बिसिलाई आर्थिक अभावले मृगौला प्रत्यारोपण रोकिनबाट बचाउन प्रेस संगठन अछामले सबैलाई आग्रह गरेको छ ।
वीर अस्पताल काठमाण्डौँमा एक महिनादेखि बीसीको डाइलासिस भइरहेको र मृगौला प्रत्यारोपण गर्नुपर्ने डाक्टरको सल्लाह अनुसार ठूलो रकम खर्च हुने भएकोले आर्थिक संकलन अभियानमा सहयोग गर्ने जिल्ला संयोजक नरेन्द्र रावल र सह संयोजक कृष्ण बहादुर बुढाद्धारा प्रकाशित अपिल मार्फत भनिएको छ ।
खबर कर्ममा सक्रिय रहेका पत्रकारको अकालमै ज्यान जानबाट बचाउन आर्थिक सहयोगका लागि देशभरका पत्रकार र पत्रकार सम्बद्ध संस्था, तीनै तहका सरकार, निजी तथा सार्वजनिक संघसंस्था र व्यक्तिमा हार्दिक अपिल गरिएको छ ।
संगठनका एक क्रियाशिल सदस्य, रेडियो सोसाइटीका प्रबन्ध निर्देशक, नयाँ पत्रिका र हिमालय टेलिभिजनका अछाम समाचारदाता ध्रुव बीसीका दुवै मृगौलाले काम गर्न छाडेको दुःखद खबरले संगठनलाई दुखि तुल्याएको भनिएको छ ।
ढकारी गाउँपालिका–६ ढुंगाचाल्ना स्थायी घर भएका बीसी सक्रिय पत्रकारितामा रहेकै बेलामा एक्कासी स्वास्थ्यमा आएको गम्भीर समस्याप्रति संगठन चिन्तित बनेको संयोजक रावलले बताए ।
साथै पत्रकार महासँघ अछामले थालनि गरेको आर्थिक संकलन अभियानमा समेत आफ्नो संगठनको ऐक्यबद्धता रहेको सह संयोजक कृष्ण बहादुर बुढाले थपे।
प्रतिक्रिया