मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

धार्मिकस्थलमा भीडभाड नगर्न आग्रह

धार्मिकस्थलमा भीडभाड नगर्न आग्रह


काठमाडौं – कोभिड–१९ को सङ्क्रमणको जोखिम बढ्दै गएको देखिएकाले धार्मिकस्थलमा दैनिक नित्य पूजाबाहेक अन्य कुनै पनि गतिविधि सञ्चालन नगर्ने/नगराउने निर्णय सरकारले गरेको छ । सरकारले चाडपर्व आ–आफ्नै घरभित्र रही जनस्वास्थ्यका मापदण्ड पालना गरेर आ–आफ्नो परिवारका सदस्यले मात्र मनाउने भनेको छ ।

दैनिक उपभोग्य वस्तुलगायत पूर्वाधार निर्माणमा आवश्यक सामग्री आपूर्ति गर्दा सो कार्यमा संलग्न चालक, सहचालक तथा अन्य व्यक्तिले स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालनामा कमी भएको देखिएकाले सम्बन्धित व्यवसायी, उद्योगी एवं सामाजिक सङ्घ–संस्था, सामुदायिक संस्था र सहकारीले अनिवार्य रूपमा सामाजिक दूरी कायम गर्नुका साथै मास्क, स्यानेटाइजरजस्ता न्यूनतम स्वास्थ्य मापदण्ड पालना गर्ने निर्देशन दिएको मन्त्री अर्थमन्त्री डा. युवराज खतिवडाले बताए।

बैठकले शैक्षिक संस्था (विद्यालय, कलेज, ट्युसन सेन्टर, तालीम केन्द्र), सबै प्रकारका सभा, गोष्ठी, तालीम, सेमिनार, सबै प्रकारका प्रदर्शन, भेला तथा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जनस्थल, सैलुन, ब्यूटीपार्लर तथा स्पा, स्वीमिङपुल, जिमखानालगायत हेल्थ क्लब, समूहमा खेलिने खेलकूद र खेल मैदानमा हुने प्रस्तुति, सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल, पुस्तकालय, सङ्ग्रहालय र चिडियाखाना हाल सञ्चालनमा निषेध गरेको छ।

यसैगरी बैठकले काठमाडौँ भक्तपुर र लतिलपुर जिल्लाभित्र आवतजावत गर्नेबाहेक कोभिड–१९ को सक्रिय सङ्क्रमित सङ्ख्या २०० भन्दा बढी भएका जिल्लाबाट अन्य जिल्लामा जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र तथा स्थानीय प्रशासनको अनुमतिबाहेक आवतजावत रोक लगाएको छ ।

फुटपाथ र खुला ठाउँ र ठेला गाडा र साइकलमा सञ्चालन भइरहेका तरकारी, फलफूल, खाद्यान्न, लत्ताकपडालगायतका खुद्रा व्यापार व्यवसाय एव कवाडी सङ्कलनजस्ता कार्य जथाभावीरूपमा सञ्चालन हुँदा भीडभाड बढ्ने र कोभिड–१९ को सङ्क्रमण समुदायस्तरसम्म विस्तार हुने जोखिम बढेकाले यस्ता कार्यलाई सम्बन्धित स्थानीय प्रशासन र स्थानीय तहले निषेध गर्ने निर्णय गरेको छ ।

सरकारले उद्योग, कलकारखानालगायत व्यवसाय सञ्चालन गर्ने व्यवसायीले हाल उद्योग व्यवसाय सञ्चालन गर्न, निजी तथा सार्वजनिक निर्माणका काममा लगाइएका श्रमिकलगायतका जनशक्तिलाई अनिवार्यरूपमा जनस्वास्थ्य तथा सुरक्षाको मापदण्ड अवलम्बन गर्न लगाई उद्योग र कलकारखाना, सार्वजनिक तथा निजी निर्माणको परिसरभित्रै सुरक्षितरूपमा खाने बस्ने व्यवस्था गर्ने निर्देशन दिएको छ ।

बैठकले हाललाई अन्यत्र स्थानबाट कामदार नल्याउने र कोभिड–१९ सङ्क्रमणका कारण भविष्यमा आउने जोखिम व्यवस्थापन गर्न सम्बन्धित उद्योग व्यवसायले आफ्नो क्षेत्रभित्र आवश्यक क्वारेन्टिन तथा आइसोलेसनलगायतका पूर्वाधारको प्रबन्धसमेत गर्न निर्देशन दिएको छ । नेपाल समय