मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

केन्द्रीय सदस्यको भेलामा प्रचण्ड-नेपालले भने, समस्याको जड केपी ओली

केन्द्रीय सदस्यको भेलामा प्रचण्ड-नेपालले भने, समस्याको जड केपी ओली


काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को विवाद सचिवालय, स्थायी कमिटी हुँदै तलतल विस्तारित हुन थालेको छ । स्थायी कमिटी बैठक अवरुद्ध भइरहँदा पार्टी अध्यक्ष केपी शर्मा ओली इतर समूह (पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ) ले केन्द्रीय कमिटीका सदस्यहरूलाई बोलाएर छलफल गर्न थालेका छन् । केही दिनअघि नेता नेपालले कोटेश्वरमा बोलाएर आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए ।

बुधबार काठमाडौंको प्रेसिडेन्सियल कलेजमा गण्डकी प्रदेश स्तरीय केन्द्रीय सदस्यको भेलाको आयोजना गरेको त्यहाँबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्य हरि अधिकारीले जानकारी दिए । भेलामा गण्डकी प्रदेशबाट प्रतिनिधित्व गर्ने झन्डै २० जना केन्द्रीय सदस्य उपस्थित थिए ।

भेलामा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीकै कारण समस्या सिर्जना भएको र पार्टी एकताका बेलाका सहमति कार्यान्वयन, त्यसपछि भएका समझदारीको पनि पालना नभएकाले समस्या सिर्जना भएको र यसको विधिसम्मत हल खोज्ने बताएको अधिकारीको भनाइ छ ।

“पार्टी के होला कसो होला भनेर चिन्ता लिनुपर्दैन । हामी एकताकै पक्षमा छौं । एकता जोगाउन अन्तिमसम्म पहल गर्नेछौं । एकतामा शङ्का नगर्नुहोस् । दिएको जिम्मेवारी पूरा गर्नुहोस् । पार्टीभित्रका खराब प्रवृत्तिलाई खराब भन्‍न र सहीलाई सही भन्न सक्नुहोस्,” प्रचण्डको भनाइ उद्धृत गर्दै अधिकारीले भने ।

“हिजो पार्टी एकता हुँदा आलोपालोको सहमति थियो । पछि ओलीजी मान्‍न तयार देखिनुभएन । व्यवहारमा कार्यान्वयन नहुने भएपछि  कार्यकारी अध्यक्ष लिएर उहाँलाई पाँचै वर्ष सरकारको नेतृत्व गर्न दिएकै हो । त्यो सहमति पनि कार्यान्वयन भएन । नेपाली मौलिक क्रान्तिलाई समाजवादको दिशा दिन पार्टी एकता गरेको हो, त्यो नभएपछि समस्या उत्पन्न भएको हो,” भेलामा प्रचण्डले ब्रिफिङ गरेका थिए ।

प्रचण्डले अहिलेको अन्तरविरोध, पद प्राप्तिको निम्ति केन्द्रित लडाइँ-झगडाका रूपमा नबुझ्न अनुरोध गरेका थिए । अहिलेको लडाइँ विचार, सिद्धान्त, विधि पालनाकै भएकाले यही रूपमा बुझ्न अपिल पनि गरेका थिए ।

भेलामा वरिष्ठ नेताद्वय झलनाथ खनाल, माधवकुमार नेपालले पनि बोलेका थिए । समय अभाव भएकाले प्रवक्ता श्रेष्ठले भने कुरा नराखेको उनको भनाइ छ । भेला शीर्ष नेताले आयोजना गरेको नभइ पार्टी एकताबारे चिन्ता गर्ने गण्डकी प्रदेशका उपलब्ध केन्द्रीय सदस्यहरूले बोलाएको पनि अधिकारीले जानकारी दिए ।